५० हजार राशीको ‘स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’को लागि आवेदन आव्हान


काठमाडौँ, २४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य कर कोष सचिवालयले ‘स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’को छनौट प्रक्रिया अघि बढाएको छ ।

सचिवालयले आज एक सूचना प्रकाशित गर्दै सुर्तीजन्य पदार्थको आयात उत्पादन विक्री बितरण तथा सेवन गर्ने कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याँउने व्यक्ति, संघ संस्था, कानून कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारीमध्ये उत्कृष्ठ छ जनालाई पुरस्कार दिने भन्दै आवेदन माग गरेको छ ।

छनौट भएका व्यक्ति तथा संस्थालाई आगामी ३१ मे का दिन पर्ने विश्व धूम्रपान रहित दिवसको दिन पुरस्कार प्रदान गरिने सूचनामा उल्लेख गरेको छ ।

पुरस्कार कस-कसलाई ?

सचिवालयका अनुसार पुरस्कार सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, बितरण गर्ने कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्न वा धूम्रपान तथा सूर्ति सेवन गर्ने कार्य बिरुद्ध जनचेतना जगाउने कार्यमा वा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी प्रचलित कानून कार्यान्वयनमा योगदान पुर्‍याँउने व्यक्ति, पत्रकार, संघ-संस्था, कानून कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारीलाई यो पुरस्कार दिईने बताईएको छ ।

पुरस्कारका लागि प्रतिस्पर्धामा उत्रिन चाहने व्यक्ति तथा संस्थाले आगामी ३० बैशाख भित्र सचिवालयमा आएर वा सचिवालयको इमेल ठेगानामा गएर आवेदन पेश गर्न भनिएको छ ।

कहिले देखि सुरु भयो ‘स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’ ?

विसं २०७६ जेठ १७ गते स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको हलमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पहिलो पटक स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार बितरण गरेका थिए । विभिन्न छ बिधामा बितरित सो पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ थियो ।

त्यसबेला पुरस्कार पाउनेमा नीति निर्माणमा उत्कृष्ठ काम गरेवापत तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारी, नीति कार्यान्वयनमा सक्रीय रहेका काठमाडौँका तत्कालीन प्रमूख जिल्ला अधिकारी रामकृष्ण सुवेदी, कानून निर्माणमा सक्रीय गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय रहेको थियो ।

यस्तै पत्रकारबाट गोरखापत्र दैनिकका सरोज ढुंगेल, पत्रकारिताकै माध्यमबाट नीति कार्यान्वयनमा जोड दिएको नयाँ पत्रिका दैनिक र सुर्ती नियन्त्रण सम्बन्धी अभियानलाई सक्रीय ढंगले लागेको पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपाल थियो ।

तर त्यस पछिका तीन वर्ष पुरस्कार बितरण हुनै सकेन । पुरस्कारको दोस्रो संस्करण २०८० र तेस्रो संस्करण २०८१ मा सम्पन्न भएको छ । यसपटक हुन लागेको यो पुरस्कारको चौथो संस्करण हो ।

पुरस्कारको स्रोत के हो ?

सबैलाई थाह नहुन सक्छ, यो पुरस्कारको स्रोत ब्लूम्बर्ग फिलान्थ्रोपिक अवार्ड हो । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्वन्धी उत्कृष्ठ कानून बनाएको भन्दै नेपालले पाएको अन्तराष्ट्रिय पुरस्कारको राशीबाट यो पुरस्कारको थालनी भएको हो ।

स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्न बनाएको कानुन अन्तर्गत सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा चेतावनीमुलक घातक चित्र राख्नुपर्ने व्यवस्था गरेपछि सन् २०१५ मा नेपालले ब्लूम्बर्ग फिलान्थेपिक अवार्ड प्राप्त गरेको थियो ।

त्यसबेला पाएको एक लाख डलर को सो पुरस्कार तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीले त्यसबेला सयुक्त अरव इमिरेटसको दुवई भएको विशेष कार्यक्रममा पुगेर ग्रहण गरेका थिए ।

अवार्ड दिने बेलामा ब्लूम्बर्गले नेपालले कसरी उत्कृष्ठ बनाउन सफल भयो भन्ने बारेमा छोटो भिडियो डकुमेन्ट्री समेत प्रस्तुत गरेको थियो ।

हुन पनि नेपाल त्यसबेला सुर्तीजन्य पदार्थको प्याकेटको सबैभन्दा बढी भागमा चेतावनीमुलक चित्र छाप्नुपर्ने व्यवस्था गर्ने संसारकै पहिलो देश थियो ।

१ लाख डलरको ब्लूम्बर्ग अवार्ड आइसकेपछि सो अवार्डको राशीको अक्षयकोष बनाई ब्याजबाट आउने रकमले नेपालमा सुर्ती नियन्त्रण गर्ने अभियानमा क्रियाशिल व्यक्ति तथा संस्था गरी बार्षिक रुपमा ६ जनालाई पुरस्कृत गर्न थालिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *