आगामी आर्थिक वर्षको बजेट सिलिङ : स्वास्थ्यको घट्यो, स्वास्थ्य बीमाको बढ्यो

260
Shares

काठमाडौं, २४ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८२ अर्ब ८८ करोडको बजेट सिलिङ पाएको छ।

राष्ट्रिय योजना आयोगले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित प्रदेश र स्थानीय तहको समेत गरेर स्वास्थ्यलाई ८२ अर्ब ८८ करोड २८ लाखको सीमा सिलिङ तोकेको हो। यो चालु आर्थिक वर्षको बजेट भन्दा ३ अर्ब ३५ करोड ६१ लाख रुपैयाँ कम हो ।

चालु आर्थिक वर्षका लागि स्वास्थ्यको मन्त्रालय र स्थानीय तहको समेत गरेर ८६ अर्ब २३ करोड ८९ लाखको बजेट बिनियोजन भएको थियो ।

योजना आयोगले दिएको सिलिङ अनुसार संघीय स्वास्थ्य मन्त्रालयका लागि ४७ अर्ब ३७ करोड ९८ लाख, प्रदेश तर्फ ६ अर्ब ३८ करोड र स्थानीय तह तर्फ स्वास्थ्यका लागि २९ अर्ब ११ करोड ७० लाख रहेको छ।

स्वास्थ्य बीमामा भने सिलिङ बढ्यो

आयोगले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रमका लागि बजेट सिलिङ केही बढी तोकेको छ । आयोगले आगामी वर्षका लागि १० अर्व भित्र रहेर स्वास्थ्य बीमाका कार्यक्रम बनाउन निर्देशन गरेको छ । चालु आर्थिक वर्षका लागि भने स्वास्थ्य बीमाको बजेट सात अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

गत साता पोखरामा भएको एक कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बजेट ३० प्रतिशत पुरयाउन पर्ने बताएका थिए । चालु आर्थिक वर्षको बजेट ४ प्रतिशत आसपासमा रहेको छ ।

सरकारले स्वास्थ्यको दश वर्षे वित्त रणनीतिमा स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट हुनु पर्ने उल्लेख छ । तर अहिले तोकिएको सिलिङले बजेटमा सुधार हुने अवस्था देखिदैन ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *