टिप्पणी :

विवादै विवादकाबीच बित्यो स्वास्थ्यमा मन्त्री बस्नेतका १० महिना

880
Shares

काठमाडौँ, २१ फागुन । राजनीतिक पार्टीहरुबीच सत्ता गठबन्धन नयाँ बनेपछि पुरानो गठनबन्धनबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत पनि घर फर्केका छन् । उनले स्वास्थ्य मन्त्रीको कुर्सी सम्हालेकोे ठ्याक्कै १० महिनामा छाड्नु परेको छ ।

गत २० बैशाखमा स्वास्थ्य मन्त्रीमा सिफारिस भएका उनी २१ बैशाखका दिन राष्ट्रपति कार्यालयमा सपथ लिएर सोही दिन पदवहाली गर्न मन्त्रालय आएका थिए ।

सुरुका केही दिन ‘जोशिला मन्त्री’ को उपमा पाएका बस्नेतले केही साता पछि नै असली रुप देखाउन थालेको कर्मचारीहरु बताउँछन् । ‘उनी घमण्डी मात्रै होइन धुर्त पनि थिए । स साना कुरामा इगो लिन्थे, आफ्नो धारणालाई सही नथाप्ने कर्मचारीलाई ठेगान लगाइहाल भन्थे । मै हुँ जान्ने, मै छु शक्तिशाली भन्ने दम्भ भएका तर फुट्टी ढंग नभएका मन्त्री हुन् उनी,’ स्वास्थ्यका एक अधिकारीले टिप्पणी गर्दै अगाडी थपे, ‘त्यसैले त १० महिनामा स्वास्थ्यलाई झनै लथालिङ्ग र भताभुंङ्ग बनाएर छाडे ।’

सबैलाई चिडाए

नयाँ व्यक्तिका लागि मन्त्री बस्नेत जोसिला थिए । झट्ट सुन्दा आँटिला लाग्ने भाषण गर्दथे ।

स्वास्थ्यमा पनि पहिलो एक -सवा महिनासम्म उनी त्यसैगरी प्रस्तुत भए ।

सुरु सुरुमा खत्रै पो रहेछन् यी मन्त्री, स्वास्थ्यमा केही न केही गर्छन् होला भन्थे विपक्षी पार्टी आवद्ध कर्मचारीले पनि । तर केही महिना पछि उनी आफ्नो असली चरित्र देखाउन थालि हाले । सरुवामा असन्तुष्टी जनाएका एक जना चिकित्सकले आत्महत्या गर्ने धम्की दिएको र त्यस्तालाई मै डोरी किनिदिन्छु भन्ने अभिव्यक्ति दिएपछि पहिलो पटक विवादमा परे । त्यसपछि भने उनका हरेक निर्णय र कार्यशैलीहरु विवादमा पर्न थाले ।

सुर्तीमा कर बढाउँछु भन्दै झनै घटाएका मन्त्रीले वीर अस्पतालको सेवा थपेको र चुस्त बनाएको गफ दिएका थिए । तर बजेट र जनशक्ति कटौती गरेको वीरको सेवा झनै खुम्चियो, त्यसपछि उनी निर्देशक माथि जाहि लागेका थिए । उनले वीरका निर्देशक डा. सन्तोष पौडेललाई हटाए तर सर्बोच्चले पुर्नवहाली गरिदियो ।

उनले स्वास्थ्य बीमा बोर्डलाई पनि ध्वस्त बनाए । कार्यकारी निर्देशक डा दामोदर बसौलालाई  गैरकानूनी रुपमा हटाउने कदम जव चाले सर्बोच्चले तंगारो लगाइदिएको थियो तर पनि उनले गल्ती दोहोर्‍याउँदै गए ।

बोर्डका सदस्यहरुलाई यस्तै अफ्टेरोमा पारेपछि उनीहरुले सामुहिक राजिनामा दिए तर त्यसपछि उनले सदस्य बन्नका लागि योग्यता नै नपुगेका व्यक्तिहरुलाई नियुक्त गरेको चर्चा चलेको छ । पछिल्लो पटक उनले नियुक्त गरेका सदस्यहरुविरुद्ध ऐन बमोजिम योग्यता नपुगेको भन्दै सर्बोच्चमा मुद्धा परेको छ ।

सबैलाई तर्साउथे
मन्त्री बस्नेत आफ्नो गरिमालाई आफै कुल्चदै हिड्ने मन्त्री हुन् । उनले न मन्त्रालयका सचिवहरुका कुरा सुने, न विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरुलाई गने । अतिरिक्त सचिव, सहसचिव तथा त्यसभन्दा मुनिका स्वास्थ्यकर्मी कर्मचारीहरुलाई उनले सधै भरी दवायरै राखे ।

उनका कुरामा हस हजुर र हुन्छ हजुर भन्ने चाहि ठिक, यो त हुँदैन हुजुर भन्ने चाहि मन्त्रीको कुरा काट्ने तँ को होस् भनिहाल्ने उनको बानी थियो । मन्त्रालयका एक अधिकारी भन्छन्, ‘सानो कुरामा बदलाको भाव राख्ने र सिध्याईदिन्छु । म संग अनेक टेक्निक छन् भनेर तर्साउने गर्दथेँ । यो दश महिना साच्चिकै विर्षनलायक महिना भयो ।’

जागिर, खरीद र बैंक डिपोजिट 

मन्त्री बस्नेतले कर्मचारीलाई सातो मात्रै लिएनन् उनले आफ्ना मान्छेलाई जागिर लगाइदिने धम्की समेत दिएका थिए । वीरमा १३ जनामध्ये १० जना आफ्ना गाउँका व्यक्तिलाई जागिर खुवाएका उनले अरु थुप्रै अस्पताल तथा विभाग र शाखाहरुमा आफ्ना मान्छे घुसाए  भनेर मन्त्रालयकै अधिकारीहरुले बताउँछन् ।

मन्त्रीहरुले आफ्ना मान्छेलाई जागिर लगाउनु अनौठो होइन तर उनले अलि बढी नै गरे । तर, भाषण आदर्शका गफ छाटथे । उनी आफै मात्र होइन सचिवालयका टिम पनि उस्तै खडा गरेका थिए ।

बैंकरलाई सल्लाहकार बनाएका थिए । अस्पतालका निर्देशकहरुलाई विनियोजन भएका रकमहरु नविल बैंकमा खाता खोलेर सारौं भनेर अवान्चित दवाव दिने गरेका थिए । ‘केही साथीहरुको त कानूनले त्यसो गर्न दिदैन भनेपछि सरुवा नै भयो,’ मन्त्रालयका अधिकारीले भने, ‘नयाँ निर्देशकहरुसंग खरीद, जागिर र बैंक डिपोजिटका कुराहरु बढी हुने गर्दथ्यो ।’

पार्टीकै तप्का पनि सन्तुष्ट थिएन, उद्योगीहरुलाई पनि बिच्क्याए

मन्त्री बस्नेतले पार्टीका महामन्त्री एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापा समूहलाई सौतेली व्यवहार गरे भनेर भन्ने गरिएको थियो । कांग्रेस निकटका कर्मचारी युनियनका कतिपय सदस्यहरुले सो कुरालाई पुष्टिहुने गरी गुनासो गर्दथे । तर, यो अवधीमा मन्त्री बस्नेतले नियुक्ति, सरुवा बढुवामा पार्टी हेरेर नै गरेका थिए ।

कांग्रेस भएकै कारण अरुलाई फाजिलमा राखेर भए पनि एकै व्यक्तिलाई दुई तीन ठाउँको जिम्मेवारी समेत दिए । पार्टी भित्र जे जति गुट र उपगुट भए पनि उनले नियुक्त गर्नु पर्ने पद जुनसुकै पदमा आफ्नै पार्टी नै रोजे । ‘उनका पालामा भएका सबै नियुक्ति, सरुवा बढुवा हेरे अहिले नै थाहा भै हाल्छ,’ मन्त्रालयका ती अधिकारीले भने । तर, मन्त्री बस्नेतले राजनीति आधारमा कुनै पनि कर्मचारी तथा स्वास्थ्यकर्मीमाथि पक्षपात नगरेको र नगर्ने दुहाई दिई रहन्थे ।

त्यसो त मन्त्री बस्नेतले पार्टी निकटका औषधि उद्योग, सप्लायर्स कसैलाई पनि साथ लिन सकेनन् ।

स्वदेशी औषधि उद्योगको बारेमा एक स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा स्वदेशी औषधि उद्योगले बढी नाफा खाएर जनता ठगेको भन्दै उल्टा पुल्टा कुरा गरेपछि उद्योगीहरु ‘मुर्ख मन्त्री’ भन्दै बिच्किएका थिए । यस्तै औषधि आयातकर्ताहरु पनि उनको व्यवहारसंग खुशी छैन् ।

‘कुरै नबुझि सार्वजनिक मञ्चमा जे पायो त्यै बोलिदिने अनि त उसलाई बोलाउन नै छाडियो एक उद्योगीले भने, मैमत्ता भएपछि कसले रुचाउँछ र ? व्यापारी भेट भएपछि कमिसन र नाफाको मात्रै कुरा गर्ने र अनावश्यक संका गर्ने, कुरा नबुझ्ने र बुझाउन खोजे आफै जान्ने हुने बानी । उद्योगी व्यापारी भनेको ठग हुन भन्ने जसरी मान्यता राखे त्यसले आफ्नै पार्टी संवद्ध उद्योगीहरु र व्यापारीहरु उनको नजिक पर्न गएनन् । उल्टै तर्कि राखे, बरु पार्टी सभापतिलाई स्वास्थ्य मन्त्री फिर्ता लैजाउ र अर्को गतिलो पठाइदेउ भनेर गुनासो गर्न पुगे भन्ने सुनियो,’ ती अधिकारीले भने ।

बस्नेत टिमको सफल सदस्य
मन्त्री बस्नेत र सचिवालय पूर्ण असफल भएपनि एक जना सदस्य भने सफल देखिए । प्रेस सल्लाहकारको भूमिकामा रहेका रामचन्द्र दुलाल मन्त्री बस्नेत टिममा रहेर आफ्नो कार्यभार सफलतापूर्वक सञ्चालन गर्न सफल रहे ।

‘मन्त्रीको सचिवालयमा रहेपछि मन्त्रीको गुणगान गाउनु र प्रतिरक्षा गर्नु धर्म हो । उनले नियमित रुपमा साना ठूला समाचार लेखिरहे, ग्रुपमा पठाइरहे । आफ्नो दायित्व निर्वाध रुपमा पुरा गरे । सबैसंग राम्ररी बोल्दथे, हसिला थिए । कसैप्रति वैमनस्यता देखाएको जस्तो लागेन । आफ्नो हिसावले खुरु खुरु काम गरे, बस्नेत टिमको एक सफल सदस्य हो भन्दा हुन्छ,’ एक स्वास्थ्य पत्रकारले टिप्पणी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *