अन्तर्वार्ता :

‘क्यान्सरबिरुद्धको हाम्रा औषधि नेपाली बिरामीका लागि सुलभ दरमा उपलव्ध बनाउँदै विश्व बजारमा निर्यात गर्ने लक्ष्य छ’

1.1k
Shares

नेपालमा क्यान्सर रोगविरुद्धको औषधि उत्पादन भई बजार जान थालेको दुई वर्ष पुग्न आट्यो । क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै एक मात्र कम्पनी टिजिग फार्माले ३ फागुन २०७८ देखि क्यान्सरविरुद्धको औषधि बजारमा पठाउन थालेको हो । त्यस यताको अवधीमा टिजिगले आफ्नो उत्पादन दायरालाई फराकिलो बनाउँदै त लगेको छ नै, आफ्ना उत्पादनलाई स्वदेशका साथै विदेश पठाउने अवस्थामामा समेत पुगेको छ । विश्व क्यान्सर दिवसको अवसरमा नेपाली हेल्थका लागि रामप्रसाद न्यौपानेले टिजिग फार्माका कार्यकारी निर्देशक शैलेश बैद्यसंग क्यान्सरबिरुद्धको औषधि उत्पादन र यससंग जोडिएका विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सार संक्षेप :

नेपालका औषधि उद्योगहरु सूचीमा टिजिग फार्मा क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने पहिलो र अहिलेसम्म एक मात्र कम्पनीको रुपमा सञ्चालित छ, तपाईँले क्यान्सरविरुद्धको औषधि उद्योग स्थापना गर्नुको खास कारण केही छ कि ?

पहिलो कुरा, म जहिले पनि केही नयाँ काम गर्न मन पराउने मान्छे । औषधि क्षेत्र मेरो पारिवारिक विरासत जोडिएको क्षेत्र । क्यान्सरविरुद्धको औषधिसंग जोडिनुको पछाडी मेरो आमा यहि रोगबाट स्वर्गीय हुनु भएको हो । त्यसैले मेरो मनमा क्यान्सरविरुद्धको अभियानमा कुनै न कुनै ढंगले देशका लागि योगदान गर्न सकिन्छ कि भन्ने थियो । अर्को कुरा नेपालमा क्यान्सरका बिरामीले सहज रुपमा औषधि नपाउने अवस्था पनि थियो । त्यहि योजना अनुसार अघि बढ्दै जाँदा क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने टिजिगको स्थापना भयो र अहिले यसैले उत्पादन गरेका औषधिहरु बिरामीले सेवन गरिरहनु भएको छ ।

औषधि क्षेत्रमा यहाँहरुको पारिवारिक विरासत जोडिएको कुरा गर्नु भयो ? औषधि क्षेत्रमा यहाँहरुको उपस्थिति कहिले देखि ?

हामी बैद्यहरु आयुर्वेदिक औषधिमा त पहिले देखि नै लागेको कुरा भयो । मेरो बुबाको पाला देखि भने एलोपेथिक औषधिको व्यवसाय पनि सुरु भयो । मेरो बुबा हरिहरानन्द बैद्यले काठमाडौँको कमलाक्षीमा विसं २०२५ साल तिर नै औषधि पसल खोल्नु भएको थियो रे । जवकी त्यसबेला काठमाडौँ यस्ता एलोपेथिक औषधि पसलहरु ८ – १० वटा मात्रै थियो रे । विसं २०३० सालमा नेपाल औषधी व्यवसायी संघ (एनसीडीए) स्थापना गर्दा गठन गरेको तदर्थ समितिमा पुष्पलाल राजभण्डारी अध्यक्ष र मेरो बुबा सदस्य हुनु भएको रहेछ । पछि मेरो काका दिलचन्द्रानन्द बैद्य एनसीडीएको बागमती अञ्चलको अध्यक्ष समेत हुनु भएको थियो ।

त्यसैले पनि यो क्षेत्र हाम्रो पारिवारिक विरासत बोकेको क्षेत्र हो भन्ने लाग्छ । र, मैले पनि यहि क्षेत्रमा हात हालेँ ।

मलाई थाहा थियो नीतिगत रुपमा र देशमा लगानी मैत्री बातावरण भन्ने तर यत्तिकै बसेर मात्रै पनि हुँदैन । केही त गर्नै पर्छ , कसैले त गर्नै पर्छ भन्ने लागेर मैले यो क्षेत्रमा हात हालेको हुँ । सबैको सहयोग लिएर आएको हुँ ।

टिजिगसंग जोडिएर आउने अर्को विषय फरेन डाइरेक्ट इन्भेष्टमेन्ट (एफडीए) र टेक्नोलोजी ट्रान्सफरको कुरा छ, नेपालमा लगानी मैत्री बातावरण छैन, विदेशीहरु लगानी गर्न उत्सुक हुँदैनन् भनिएको बेलामा तपाईँ चाहि कसरी सफल हुनु भयो ?

महत्वपूर्ण प्रश्न गर्नु भयो, बुबाले औषधि व्यवसाय गरे पनि म भने त्यसतर्फ थिईन् । मलाई आफ्नो दक्षता नेपालको कानून, लगानी, औद्योगिक परियोजना, वित्तिय पक्षको विश्लेषण आदि कुराहरुमा अलि बढी छ जस्तो लाग्छ । म ती विषयहरुमा साना ठूला कामहरु पनि गर्दै आइरहेको थिएँ ।

तर  मेरो ध्यान सदैव नेपालमा अति आवश्यक भएको क्षेत्रको पहिचान गर्ने र त्यसमा विदेशी लगानी भित्र्याउन पाएँ, कति मज्जा हुन्थ्यो भन्ने तर्फ हुने गर्दथ्यो ।

मैले सन् २००४ तिरबाट केही अमेरिकी परियोजनाका लगानीकर्तासंग काम गर्ने मौका पाएँ । त्यसपछिका वर्षहरुमा मेरो भारतका इन्भेस्टरहरुसंग पनि जानपहिचान भयो । परिवारको  औषधि व्यवसाय, आमाको क्यान्सर रोगबाट निधन,  नेपाली बिरामीहरुले सहज रुपमा क्यान्सर विरुद्धको औषधि नपाईरहेको अवस्था, केही नयाँ गर्नुपर्छ भन्ने सोच राख्ने मलाई ‘ट्रिगर’ गरिहाल्यो र  मेरो मनले भन्थ्यो  नेपालमा एन्टीक्यान्सर ड्रग उत्पादन गर्ने उद्योग खोल्नुपर्छ ।

मैले आज सम्झन्छु, भारतका लगानीकर्ता र हैदरवादस्थित एसपी एक्युर ल्याव जसले टेक्नोलोजी ट्रान्सफर गरिदियो । हामी माथि विश्वास गर्ने ती विदेशी लगानीकर्ताहरु महान हुन भन्ने लाग्छ । अहिले पनि मनै देखि धन्यवाद भन्न चाहन्छु ।

अर्को कुरा, हामीले के बुझ्नु पर्छ भने नेपाल जस्तो देशमा यहाँको हरेक किसिमको बातावरण नबुझी कसैले पनि पैसा यति सजिलै लगानी गर्दैन र टेक्नोलोजी ट्रान्सफर त परको कुरा । म लगानीकर्ताहरु के खोज्दछन्, लगानीको सुरक्षा कसरी गर्नुपर्छ । लगानीकर्ताको सुरक्षा कसरी हुनसक्छ भन्नेमा काम गर्दै आएको थिएँ ।

देशमा भएको ‘एडभर्स सिचुएसन’ आफ्नो ठाउँमा छ । राजनीतिक अस्थिरता पनि आफ्नो ठाउँमा छ । तर लगानीकर्ताले त्यो अवस्था हेरेरै हामीकहाँ लगानी गर्न राजी भएका हुन् । यसमा हामीले धेरै कोणबाट छलफल गरेर ‘कन्भिन्स’ गरेका हौँ ।

भन्न त सरकारले लगानी मैत्री बातावरण भनेकै हुन्छ, तर कहाँ कहाँ नमिलेको, सहजताका साथ काम नभएको जस्तो हुन्छ कता कता । हाम्रोमा आएको जस्तो लगानीकर्ताहरु बंगलादेश वा श्रीलंकामा गएको भए, उनीहरुलाई दिईने लगानीमैत्री सुविधा, प्रोत्साहन प्याकेज नै छुट्टै हुन्थ्यो । हामीकहाँ त्यो पद्धतीको विकास अझ् हुन सकेको छैन । हामीकहाँ अझै पनि त्यो पुरानो शैली मै छौँ । त्यसैले विदेशी लगानीका लागि बातावरण बनाउन राज्यले नै केही नीतिगत निर्णय गर्नु पर्छ । र व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ ।

तपाईँको नजरमा क्यान्सर उपचारको हिसावले हामी कहाँ निर छौँ जस्तो लाग्छ ? 

नेपालमा क्यान्सरको उपचारका लागि राम्रा अस्पतालहरु छन्, योग्य डाक्टरहरु पनि छन् । तर, उपचारमा प्रयोग हुने औषधि आफ्नै थिएन । अर्थात क्यान्सर रोगविरुद्ध उपचारका लागि प्रयोग हुने औषधि, बिरामीलाई दिईने सबै औषधि आयात गर्नुपर्ने अवस्था थियो । अहिले पनि भइरहेको छ । हामीले यहि ग्यापलाई हटाउन नेपालमै क्यान्सरविरुद्धको औषधि बनाउँ भनेर सुरु गरेका हौँ । अत्याधुनिक उपकरणसहितका अस्पताल, दक्ष चिकित्सक संगै अब औषधि समेत स्वदेशमै उत्पादन हुने भएपछि निश्चय नै क्यान्सरको उपचारमा नेपाल एक कदम अघि बढ्यो भन्न पनि सकिन्छ ।

क्यान्सर विरुद्धको औषधि नेपालमै उत्पादन गर्ने तपाईँको परियोजना कोभिड -१९ महामारीमा परयो है ? कसरी पार लगाउनु भयो त्यो अवस्थालाई ?

हो,  हामीले सन् २०१८ देखि यो परियोजना सुरु गरेका थियौँ । तर सन् २०१९ को अन्त्यतिरबाट विश्वव्यापी रुपमा कोभिड – १९ को महामारी देखा पर्‍यो । नयाँ उद्योगको सुरुवातमै यस्तो प्रकोपले छेक्दा के भयो होला ? तपाईँ कल्पना गर्नुहोस त । तर,  हामीले पार लगायौँ ।

नेपालमा क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने पहिलो उद्योगको रुपमा हामी आउँदै थियौँ,  हाम्रा लागि पनि सबै नै नयाँ थियो ।  फ्याक्ट्रीले आउट एप्रुभल अघि बढायौँ, एप्रुभल भयो । साइटमा आइईई भयो । साइटमा रेजिष्टेन्सहरु भयो । स्थानीयसंग समन्वय गरियो । सबै प्रक्रिया पुरा भयो र फ्याक्ट्रि निर्माणका लागि जग खनेर केही माथि उठ्न थालेको थियो त्यहि बेलामा कोभिड-१९ देखा पर्‍यो।

कोरोना सुरु हुँदा हामी लगभग ‘डिजास्टर सिचुएसन’मा पुगेका थियौँ । म बस्ने काठमाडौँ, फ्याक्ट्री नाला बनेपा, लकडाउनको अवस्था, त्यसमाथि हाम्रा कामदार र पविधिकहरु भारतीय । भारतबाट कोरोना आयो भन्ने त्यसबेलाको हल्ला । अवस्था बर्बाद नै थियो । तर अहिले धन्यवाद दिन चाहन्छु त्यसबेला हामीलाई काठमाडौँ, भक्तपुर र काभ्रेको प्रशासनले निकै सहयोग गरयो । तीन वटै जिल्लाका प्रहरी प्रशासनले हाम्रो बाध्यतालाई बुझेर मिल्ने सम्म सहजिकरण गरिदिनुभयो । दिनका दिन उपत्यकाबाट बाहिर जाने व्यवस्था मिलाइदिनु भएको थियो । स्थानीय निकायले हाम्रो औषधिको सेन्सेटिभ कुरालाई बुझिदिनुभयो ।

त्यसबेला हाम्रो फ्याक्ट्रिमा इन्जिनियरिङ टिम नै ३० भन्दा बढी थियो । कोरोना भारतबाट आएको हो भन्ने धारणा गाउँघरमा व्यप्त थियो । त्यसबेला उनीहरुको सुरक्षाको अर्को चिन्ता थपियो ।

लोकल लेभल र पोलिटिकल लेभलमा पनि यसबारेमा समन्वय गर्नुपर्ने सम्झाउनु पर्ने अवस्था थियो । वडाध्यक्ष, नगरप्रमुख देखि स्थानीय प्रशासनसम्म हामीले आफ्नो अवस्था र बाध्यताबारेमा नियमित जानकारी गराई रहयौँ । भाग्यवस उहाँहरु सबैले बुझिदिनु भयो र सहयोग गरिदिनुभयो । लोकल लेभलको साथकै कारण कुनै एक दिन पनि नरोकिईकन साइटको भित्र चाहि काम चलि रहयो ।

हामीले भन्सारबाट पनि  सहयोग  पायौँ । आजको दिनमा म यी सबै सरकारी निकायलाई पनि धन्यावाद दिन चाहन्छु । यसै कारणले हामीले कोरोना सकिनासाथ हामीले बजारमा उत्पादन गरेको औषधि सहित उपस्थित हुन पायौँ । यो एक किसिमले सरप्राइज पनि भयो ।

अब औषधिबारे कुरा गरौँ, बजारमा सुरुवात गर्दा तीनवटा मोलिक्युलबाट बनेका क्यान्सरको औषधि पठाउनु भयो है ?

हाम्रो सबैभन्दा ठूलो च्यालेन्ज के भयो भने औषधि फ्याक्ट्री खडा भयो अब त सबै क्यान्सरका औषधि नेपालमै पाइन्छ भन्ने आम बुझाई भयो ।

एउटा मोलिक्युलको तीनवटा स्ट्रेन्थ छ भने त्यो तीनवटालाई प्रतेक वटाको रुपमा औषधि व्यवस्था विभागमा दर्ता गर्नु पर्छ । विभागले यो सबै कुरालाई इन्डिभिजिअल रुपमा हेर्ने हुँदा हामी हरेक पटक एउटा औषधिका लागि जाँदा खेरी इन्डिभिजुअली डकुमेन्ट पेश गर्नुपर्छ । हरेक औषधिको डकुमेन्ट, फर्मुलेसन सबै दिएर सबै प्रडक्ट लाइसेन्स, र मार्केट लाइसेन्स लिएर ।

पहिले तीनवटा मोलिक्युलमा औषधि लिएर बजार आयौँ । त्यसमा क्यान्सरमा बढी प्रयोग हुने औषधिहरु थियो । अहिले औषधि निर्यात गर्नका लागि पनि १६ मोलिक्युलको २९ वटा स्ट्रेन्थमा उत्पादन भइरहेको छ ।

हामीले बनाउने औषधिहरु खाने ट्याब्लेट वा क्याप्सुलमा फर्ममा हुन्छ ।  ओरल औषधि हो । हाम्रो औषधिहरु टार्गेटेड थेरापी अन्तरगत पर्दछ । फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पेटको क्यान्सर, स्तन क्यान्सर, मिर्गौला, सिकल सेल एनिमिया, ल्युकेमिया लगायतका बढी देखिने क्यान्सरका लागि औषधिहरु आइसकेको छ ।

नेपालमा बनेको औषधि भनेपछि कतिपयले गुणस्तरमा प्रश्न गर्ने गर्दछन् ? टिजिगको उत्पादनमा यस्ता प्रश्नहरुको सामना गर्नु परेको छ कि छैन ?

सबैभन्दा ठूलो च्यालेन्ज भनेको हामी आफैले आफैलाई विश्वास नगरेको अवस्था हो । मैले के भन्न चाहन्छु भने आजको नेपालमा औषधि मात्रै होइन धेरै उद्योगहरु विश्वस्तरीय गुणस्तरीय छन् ।

अहिले टिजिगबाट उत्पादित औषधिहरु ठूला सरकारी तथा निजी क्यान्सरका अस्पतालहरुका फार्मेसीमा पाइन्छन् । ती अस्पतालका डाक्टरहरुले प्रेस्काइव गरिहेका छन् । गुणस्तरमा आशंका भएको भए त्यसरी प्रेस्काइव गर्थे होला ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को स्टार्डड र नेपालको प्रविधि हस्तान्तरण सम्वन्धि ऐन अनुसार नै सञ्चालनमा ल्याएका हौँ ।  विभागले प्रत्येक चीजहरुको विश्लेषणात्मक प्रतिवेदन हेर्ने, औषधिहरुको स्याम्पल थर्ड पार्टी ल्यावमा पठाउने देखि सबै परीक्षण हुन्छ । यति मात्रै होइन प्याटेन्ट ड्गर अनुसार सबै हुवहुँ मिल्नुपर्छ । त्यो नभई लाइसेन्स नै पाउँदैन । औषधि व्यवस्था विभागले त्यो नहेरी लाइसेन्स नै दिदैन ।  त्यसैले गुणस्तरमा शंका नगरौँ ।

टिजिगको उत्पादन कत्तिको प्रयोगमा आएको छ ?

मैले माथि नै भने, भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर सेन्टर नेपालगञ्ज, सिभिल अस्पताल काठमाडौँ,  नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि , काठमाडौँ क्यान्सर सेन्टरमा हाम्रा औषधिहरु प्रयोग भइरहेको छ ।  अन्य अस्पतालबाट पनि हाम्रा औषधिको लागि माग आएको छ । हाम्रा औषधिले स्वास्थ्य लाभ लिएर धन्यवाद दिएका बिरामी र चिकित्सक पक्षहरुका सन्देश पनि हामीले प्राप्त गर्न थालेका छौँ ।

क्यान्सरको औषधि महंगो हुन्छ भन्ने छ ? तपाईँको उत्पादन कस्तो छ नि ? नेपालीले सस्तोमा गुणस्तरीय औषधि खान पाउँछन् ?

हाम्रो नारा नै ‘गुणस्तरीय औषधि सुलभ मूल्यमा’ भन्ने छ । हामीले अन्तराष्ट्रिय गुणस्तरका औषधिहरु कम्तीमा ३० प्रतिशत सस्तो मूल्यमा वितरण गरेका छौँ । यसले प्रयोगकर्ता बिरामी र उनीहरुका आफन्तमा ठूलो राहत दिन्छ भन्ने लाग्छ ।

सन् २०१८ पछिका यी छ वर्षको अवधीमा नयाँ उद्योग खोल्दाका भोगाइ के कस्ता भए ? राज्य पक्षलाई के सुझाव दिनुहुन्छ ?

कुनै पनि देशले श्रम निर्यात गरेर प्रगति गर्दैन । देशमै उद्योग धन्दा कलकारखाना खोली, विदेशी लगानी भित्र्याउन सकेमा छिटो प्रगति हुनसक्छ । औषधिकै कुरा गरौँ न मैले धेरथोर लगानी भित्र्याएँ । बातावरण बास्तवमा बन्दै गयो भने मल्टी नेशनल कम्पनीको लगानी आउन सक्छ । यसले रोजगारी र अर्थ तन्त्र चलायमान बन्छ ।

त्यसैले राज्यले विदेशी लगानीका लागि सरोकारवाला निकायलाई विशेष नीतिगत निर्देशन दिनुपर्छ जस्तो लाग्छ । सरकारी निकायबीच समन्वयको जरुरी हुन्छ । यदि औषधि क्षेत्रमा हामी विदेशी लगानी तथा टेक्नोलेजी भित्र्याउने हो भने अहिलेको व्यवस्थामा केही परिवर्तन गर्नुपर्छ ।

जस्तै: जलविद्युतमा राज्यले केही सहुलियत दिएको छ । यस्तै औषधिका क्षेत्रमा यस्ता सहुलियत दिनुपर्छ । लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्छ । प्रक्रियागत कुराहरुलाई फास्टट्रयाकबाट मिलाउनु पर्छ । राष्ट्र बैंकले औषधिमा हुने लगानी सम्वन्धी नीतिमा पनि पुर्नबिचार गर्नु पर्छ ।

हिजोको दिनमा नयाँ मोलिक्युल आएको थिएन । टेक्लोजोजी ट्रान्सफर कसरी हुन्छ भन्ने पनि जानकारी थिएन । औषधिमा विदेशी लगानी हुन्छ कि हुँदैन भन्ने पनि थिएन । तर आज त्यो डाउट त ओभरकम भयो । आजको दिनमा सरकारले पनि औषधि हाम्रो स्टेन्थ हो भनेर  यसलाई आफ्नो प्राथमिकतामा राख्नु पर्छ ।

टिजिगको  अबको लक्ष्य के हो ?
नेपालमा क्यान्सरका हजारौँ बिरामीले सुलभ हिसावले हामीले उत्पादन गरेको गुणस्तरीय औषधि सेवन गर्नु भएको छ । अबको हाम्रो लक्ष्य भनेको यो अवस्थालाई स्थिर राख्दै थप नयाँ मोलिक्युलहरु ल्याउने र विदेश समेत निर्यात गर्ने हो ।

विश्व क्यान्सर दिवसको अवसरमा नेपालको औषधि उद्योगीको नाताले के सन्देश दिनुहुन्छ ?

क्यान्सर दिनानुदिन बढी रहेको छ । यसले हामी सबैलाई चिन्चित तुल्याएको छ । यसको न्युनिकरणका लागि हामीले आफ्नो खानपान, जीवन शैलीमा ध्यान दिनु पर्छ । राज्यले क्यान्सर स्क्रिनिङमा जोड दिनुपर्छ ।

हिजोको दिनमा क्यान्सर अति नै डरलाग्दो थियो भने आजको दिनमा क्यान्सर जितेका व्यक्तिहरुले सर्भाइभर सोसाइटीहरु जस्ता संस्था खोलेर सक्रिय रुपमा काम गरिरहनु भएको अवस्था छ । अर्थात क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन । हौसला राख्नु होला । उपचारका अनेकन विधि छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *