ग्रान्डी हस्पिटलले सञ्चालनमा ल्यायो क्षयरोग उपचार केन्द्र, निःशुल्क औषधि वितरण गरिने
काठमाडौँ, ९ असोज । धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना गरिएको छ। सोमबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसी र ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा बिनोद बिजुक्छेले संयुक्तरुपमा केन्द्रको उद्घाटन गरेका हुन्।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखा नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्रको संयुक्त सहकार्यमा डट्स केन्द्रको संचालन हुने छ।
उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रका निर्देशक डा श्रेष्ठले क्षयरोगीहरुका लागि सहजै उपचारको व्यवस्था गर्न टोखा क्षेत्रमा उक्त निःशुल्क क्षयरोग केन्द्र खोल्न ग्रान्डी अस्पतालले स्थान व्यवस्थापन गरेकोप्रति आभार व्यक्त गरे।
केन्द्रमा क्षयरोगीहरुको लागि निःशुल्क औषधि वितरण गरिनेछ।
ग्रान्डी मात्र नभई मुलुकका सबै ५० बेड भन्दामाथि सञ्चालित अस्पतालले डट्स केन्द्र राख्नु आवश्यक रहेको निर्देशक डा श्रेष्ठले बताए। उनले ग्रान्डी अस्पतालबाट सुरुवात भएको यस कार्यक्रमलाई मुलुकभरका निजी अस्पतालहरुमा लैजाने लक्ष्य सरकारको रहेको बताए।
मुलुकमा अनुमानित क्षयरोगी अझै उपचारको पहुचमा आउन नसकेको बताउदै उनले डट्स केन्द्रको दाएरा बढाएर उपचार पनि गर्ने तथा तथ्याङ्क पनि संकलन हुने भएकाले केन्द्रहरु बढाउनु पर्ने बताए।
अझै हरेक वर्ष ७९ हजार संक्रमित थपिने गरेको तर ३७ हजार ५ सय ३१ मात्र उपचारको पहुचमा आउने गरको तथ्याङक रहेको छ।
अस्पतालका मेडिकल डाइरेक्टर डा बिनोद बिजुक्छेले बिरामीको हितका लागि अस्पताल सधैं सकारात्मक रहेको धारणा राखे। उनले ग्रान्डी अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त केन्द्र स्थापना गरेको समेत बताए। उनले धेरै मानिसमा टिबि भनेको फोक्सोमा मात्र हुन्छ भन्ने भ्रम रहेको छ भन्दै यो शरीरको कुनै पनि भागमा हुन सक्ने बताए । ‘टिवि भनेको शरीरको केवल नङ, कपाल र दाँतको बाहिरी भागमा मात्रै नहुने हो अन्यत्र जहाँ पनि हुन्छ,’ उनले भने ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसीले अहिलेसम्म ११ ओटा स्वास्थ्य केन्द्रबाट यो सेवा दिइएको भन्दै ‘पिपिएम’ मोडलबाट ग्रान्डी अन्तराष्ट्रिय अस्पतालबाट पनि सहकार्य सुरु भएको बताए । उनले निजी स्वास्थ्य संस्थाबाट सेवा लिने नगरवासीले पनि सहज रुपमा सेवा लिन सक्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रतिनिधीहरु, अस्पतालका चिकित्सक तथा अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो।
सम्पर्क इमेल : [email protected]