सरकारी स्वास्थ्य संस्थाका टेलिफोन सेवा प्रभावकारी नभएको गुनासो बढेपछि …….
काठमाडौँ, ३० भदौ । तपाईँले जानकारी लिनका लागि सरकारी अस्पताल, प्रतिष्ठान तथा अनुसन्धान केन्द्रका ल्याण्डलाइन फोनहरु कत्तिको प्रयोग गर्नु भएको छ ? ती फोनहरुमा नम्बर डायल गर्दा उठ्छ कि उठ्दैन ? अथवा उठे पनि प्रतिक्रिया कस्तो पाउनु भएको छ ? तर धेरै सेवाग्राहीले सरकारी यी स्वास्थ्य संस्थाका टेलिफोन सेवा प्रभावकारी नभएको गुनासोगरेका छन् ।
सरकारी स्वास्थ्य संस्थाका टेलिफोन सेवाका बारेमा गुनासो बढ्दै गएपछि राष्ट्रिय सतर्कता केन्द्रले सो सम्वन्धमा गत २५ साउनमा पत्र लेख्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकषर्ण गराएको थियो । स्वास्थ्यले सतर्कताबाट पत्र आएको झण्डै एक महिना पछि मातहतका निकायलाई सेवामा सुधार गर्न निर्देशन दिएको छ ।
विभागहरु, अस्पतालहरु, प्रतिष्ठान तथा अनुसन्धान केन्द्रहरु सबैलाई एकमुष्ट सम्वोधन गरी लेखिएको जानकारी पत्रमा स्वास्थ्य मन्त्रालय मातहतका सरकारी कार्यालयहरु तथा सार्वजनिक संस्थानहरुमा सेवाग्राहीहरुले टेलिफोनमार्फत केही जानकारी लिन खोज्दा कार्यालयको टेलिफोन नउठ्ने, उठेपनि राम्रो प्रतिक्रिया नदिएको भन्ने उजुरी प्राप्त भएको उल्लेख छ ।
पत्रमा उल्लेखित सबै निकायहरुबाट सेवाग्राहीले टेलिफोनमार्फत जानकारी लिने व्यवस्थालाई सहज र प्रभावकारी बनाई सेवाग्राहीको गुनासोलाई सम्भव भएसम्म छिटो व्यवस्थापन गर्ने गराउने भनिएको छ ।
अब स्वास्थ्यले मातहतका निकायलाई पठाएको यो पत्रको रेस्पोन्स ती निकायहरुले कसरी गर्छन् ? त्यो भने हेर्न बाँकी छ ।
सम्पर्क इमेल : [email protected]