पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप ‘एचपीभी’ आएको डेढ महिना नाघ्यो, लगाउने अत्तोपत्तो छैन
काठमाडौँ, ७ भदौ । स्वास्थ्य मन्त्रालयले निर्णय गर्न नसक्दा डेढ महिना अघि नै भित्रिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) टेकुस्थित आपूर्ती शाखाको गोदाममै थन्किएको छ ।
भविश्यमा लाग्न सक्ने पाठेघरको मुखको क्यान्सरलाई रोक्नका लागि ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई दिईने यो खोप २० हजार डोज सरकारले गत आर्थिक वर्षकै बजेटबाट खरीद गरेर ल्याएको थियो । यसबर्ष थप खोप ल्याएर यो कार्यक्रमलाई विस्तार गर्ने भनेर घोषणा अर्थमन्त्री डा. प्रकाशशरण महतले गत १५ जेठमा प्रस्तुत बजेटबाटै गरेका छन् । तर, १९ असार २०७९ मा भित्रिएको २० हजार डोज खोप लगाउने अझै टुंगो लागेको छैन् ।
खोप खरीद गरेको स्वास्थ्य सेवा विभाग, खोप लगाउने जिम्मेवारी पाएको विभाग अन्तरगर्तको परिवार कल्याण महाशाखाले मन्त्रालयको आदेश कुरेर बसेका छन् । मन्त्रालयले रोग प्रभावित क्षेत्र कहाँ छ ? ठाउँ पत्ता लगाएर भन भन्दै बसिरहेको छ ।
‘खोप टेकुको खोप भण्डारण केन्द्रमै सुरक्षित ढंगले राखेका छौँ । पहिलो लटमा आएको यो खोप कहाँ लगाउने हो ? ठाँउ तोकिदिनुहोस भनेर मन्त्रालयलाई आग्रह गरेका छौँ । त्यहाँबाट निर्देशन आउनासाथ हामी खोप लगाउने कार्यक्रम अघि बढाई हाल्छौँ,’ परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले बताए । उनले मन्त्रालयले आदेश दिएपछि शिक्षा मन्त्रालय तथा स्थानीय तहसंग समन्वय गरी थप तालीम तथा अरु कार्यहरु अघि बढाउने बताए ।
यता स्वास्थ्य मन्त्री मोहन बस्नेतले भने पहिलो चरणमा आएको खोपलाई बढी आवश्यकता भएको ठाँउ र पाठेघरको मुखको क्यान्सर बढी प्रभावित क्षेत्रमा पढाउन खोज्दा ढिला भएको बताउँछन् ।
‘अहिले हामीसंग जम्मा २० हजार डोज खोप आएको हो । दुई डोज लगाउनु पर्दा मुस्किलले १० हजार जनालाई पुग्छ । त्यसैले हामी बढी प्रभावित क्षेत्र र बढी आवश्यक भएको ठाउँबाट सुरु गरौँ भनेका हौँ । मैले ती सम्भावित ठाउँहरुको अध्ययन गरि रिपोर्ट पठाउनु भनेको छु । त्यो रिपोर्ट आउनासाथ खोप सुरु गरि हाल्छौँ ,’ मन्त्री बस्नेतले भने ।
सरकारले गत १९ असारमा ल्याएको यो खोप चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो ।
सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप डब्लुएचओले मान्यता प्रदान गरेको खोप हो । ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई दुई मात्रा र १५ वर्ष माथिकालाई तीन मात्रा दिन सकिन्छ ।
पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) लाई मानिएको छ । जुन यौन क्रियाकलापको माध्यमबाट महिला वा पुरुषमा सर्दछ । एचपीभी भाइरसहरुको समूह हो । यो भाईरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ ।
‘यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ । एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशत भन्दा बढी क्यान्सर गराउँछ । त्यसैले बालिकाहरुको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु पर्दछ भनिएको हो ,’क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले भने ।
त्यसो त नेपालमा ‘सन् २०१५ मै नेपालले चितवन र कास्कीमा एचपीभी खोप पाइलटिङ गरेको थियो । तर आवश्यकता अनुसार खोपको उपलव्धता हुन नसक्दा सो कार्यक्रम बीचमै रोकिएको थियो ।
सरकारसंग अहिले मुस्किलले १० हजार किशोरीहरुका लागि दिन मिल्ने खोप छ । तर खोप लगाउन पर्ने ९ देखि १४ वर्ष उमेर समूहका किशोरीको संख्या १६ लाख ५० हजार भन्दा बढी छ । यो खोपका लागि द भ्याक्सिन एलायन्स (गाभी)संग अनुरोध गरिएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेकले भने ।
सम्पर्क इमेल : [email protected]
I have need