आमाको मृत्युपछि आवेगमा आएका छोराले आइसीयू छिरेर नर्समाथि गरे मुक्का प्रहार

धारिलो हतियार प्रयोग गरी सुरक्षाकर्मीको हात काटिदिए

 

चितवन ४ भदौ । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा कार्यरत नर्स र सुरक्षाकर्मीमाथि हातपात भएको छ । त्यहाँ उपचाररत आफ्नी आमाको मृत्युपछि आवेगमा आएका छोराले नर्स तथा सुरक्षाकर्मीमाथि हातपात गरेका हुन् ।

घटना सोमबार अपरान्ह साढे छ बजे तिरको हो । आइसीयूमा राखी फोक्सोको क्यान्सरको उपचार गराईरहेकी आमाको आज अपरान्ह मृत्युपछि मकवानपुरका रोशन सुनारले आइसीयूमा छिरेर त्यहाँ कार्यरत नर्स जस्मिना श्रेष्ठमाथि मुक्का र लात्ती प्रहार गरेका थिए ।

सहकर्मीमाथि आक्रमण भएपछि त्यहाँ कार्यरत चिकित्सक तथा नर्सले उनलाई समाउन खोजेका थिए । तर उम्केर उनी गेटसम्म पुगे । त्यहाँ खटिएका सुरक्षाकर्मी सागर परियाले उनलाई समाउन खोजे तर उनले झोलाबाट धारिलो बस्तु झिकेर हात काटिदिए ।

‘सुरक्षाकर्मीको हात ब्लेडले काटिदिएको रहेछ । अहिले उसलाई प्रहरीको जिम्मा लगाइएको छ,’ कलेजको सीईओ डा सुप्रभात श्रेष्ठले भने ।

उनले उपचाररत बिरामीको अवस्थाका बारेमा अस्पताल र चिकित्सकले नियमित रुपमा विरामी पक्षलाई जानकारी गराइएको र बाबुले त्यसलाई सहज रुपमा लिए पनि छोरा आवेगमा आएको बताए ।

‘मृतकका श्रीमानलाई सबै अवस्था र सम्भावनाबारेमा सबै जानकारी थियो । उहाँले कुरा बुझ्नु भयो तर छोराले त्यसलाई सहन गर्न सकेनन जस्तो लाग्यो । आवेगमा आएर अवान्चित क्रियाकलाप गरे,’ डा श्रेष्ठले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *