लक्षित वर्गको निःशुल्क उपचारका लागि काठमाडौँ महानगरले तयार गर्‍यो कार्यविधिको मस्यौदा

महानगर भित्रका ठूला सरकारी अस्पतालका प्रतिनिधिसंग गर्‍यो छलफल

काठमाडौँ, १ भदौ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन कार्यविधिको मस्यौदा तयार पारेको छ ।

स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ बमोजिम लक्षित वर्ग (विपन्न, असहाय, वेवारिसे) व्यक्तिको निःशुल्क उपचारका लागि कुलमध्ये १० प्रतिशत शय्या उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका विधि, प्रक्रिया र दायित्वहरु मस्यौदामा राखिएका छन् ।

कार्यविधिमा अनुगमन मूल्याङ्कनलाई मार्ग निर्देश गर्न महानगरपालिकाका प्रमुखको संयोजकत्वमा व्यवस्थापन समितिको प्रस्ताव गरिएको छ । उक्त समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने व्यवस्था छ । यसैगरी समितिमा स्वास्थ्य मन्त्रालय (संघ र प्रदेश), मेडिकल काउन्सिल, नर्सिङ् काउन्सिल, सरकारी अस्पताल र निजी अस्पतालको छाता संगठनबाट प्रतिनिधि समेत रहने बताइएको छ ।

अस्पतालहरुमा उपचारको समन्वय र सहजीकरणका लागि महानगरपालिकामा चिकित्सकसहितको निःशुल्क उपचार सेवा एकाई हुनेछ । एकाईमा सबै अस्पतालहरुमा उपलब्ध निःशुल्क शय्याको संख्या, उपयोग, रोग अनुसारको चिकित्सक सेवा सम्बन्धी विवरण हुनेछ ।

तथ्याङ्क र सेवाका आधारमा उपचारका लागि अस्पताल र बिरामीका बीच समन्वय र सहजीकरण गर्ने काम एकाईको मुख्य जिम्मेवारी हुनेछ ।

यस प्रक्रियाका लागि विरामीले वडालाई सिफारिसका लागि दिने निवेदन, स्थानीय तहले उपचारका लागि गर्ने सिफारिस, वडाले गर्ने सर्जमिन, बिरामीलाई उपचार दिँदा भर्नु पर्ने फारम, दैनिक रजिष्टर, उपचार गर्ने विरामी वा निजको आफन्तबाट प्राप्त गर्नु पर्ने विवरण, प्रतिवेदन लगायत आवश्यक प्रक्रियाका लागि चाहिने ढाँचा अनुसूचीमा राखिएको छ ।

जनस्वास्थ्य विभागले तयार पारेको मस्यौदाका व्यवस्थामाथि गत बुधबारबाट क्षेत्रगत छलफल थालिएको थियो । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा आयोजना गरिएको पहिलो छलफलका लागि सरकारी अस्पतालका प्रमुखहरुलाई बोलाइएको थियो । छलफलमा महानगरपालिका स्वास्थ्य सल्लाहकार, स्वास्थ्य तथा शिक्षा समितिका पदाधिकारी, कार्यपालिका सदस्यहरुको सहभागिता थियो ।

महानगरपालिकाभित्र निजामति कर्मचारी अस्पताल, केन्द्रीय कारागार अस्पताल, कान्ति बाल, त्रिवि शिक्षण अस्पताल, वीर, राष्ट्रिय ट्रमा, परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र नेपाल प्रहरी अस्पताल छन् । छलफलमा यी सबै अस्पतालबाट प्रमुख तथा प्रतिनिधि सहभागिता थियो ।

छलफल कार्यक्रममा उपप्रमुख डंगोलले, निःशुल्क शय्या र उपचार सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएपछि थप सहकार्यका विषयमा छलफल गर्न सकिने बताईन । ‘प्रचलित कानुनले दिएको अधिकार कार्यान्वयन पहिलो दायित्व हो ।

अस्पताल सञ्चालनका र क्षमता विकास लागि संघ, प्रदेश र स्थानीय सरकारले आफ्ना आफ्ना दायित्व पूरा गर्नुपर्छ । त्यसमा महानगरपालिकाको दायित्व गर्नु पर्ने दायित्व हामी पूरा गर्छौँ । स्वास्थ्यको जिम्मा तहगत सबै सरकारले वहन गर्नुपर्छ’ उनले भनिन् ।

‘हामीले तपाईँहरुसँग चलाएको छलफल महानगरले कार्यान्वयनमा ल्याउन खोजेको कार्यक्रम होइन । नेपाल सरकारले कानुनमा गरेको व्यवस्थाको अनुगमन गर्ने जिम्मेवारी हामीमाथि आएकोले व्यवस्था कार्यान्वयन प्रयास थालेका हौँ ।’ छलफलमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भने, ‘व्यवस्था कार्यान्वयनका लागि कुनै सर्त हुँदैन । निसर्त दायित्व पूरा गर्नुपर्छ ।’

महानगरका स्वास्थ्य सल्लाहकार प्राडा जगदीशप्रसाद अग्रवालले भने, ‘विपन्न, असहाय, वेवारिसे विरामीले निजी अस्पतालमा उपचारका लागि जाने कल्पना गर्न सक्दैनन् । हामीले प्रणाली विकास गरेर निजी अस्पतालमा उपलब्ध हुने निःशुल्क उपचारको पहुँच ती वर्गमा पु¥याउनु पर्छ ।’ छलफलमा धारणा राख्दै शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले, जसको कोही छैन । केही छैन । ती वर्गलाई मेरो सरकार छ । भन्ने अनुभूति हुने गरी काम गर्नुपर्ने धारणा राखे ।

कार्यविधि कार्यान्वयनमा आएपछि प्रत्येक नागरिकलाई राज्यबाट निःशुल्क रुपमा आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने हक प्रत्याभूति हुने बताउँदै जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले, कोही पनि आधारभूत र आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नहुने वातावरण सिर्जना हुने बताए ।

छलफलमा स्वास्थ्योपचारका लागि अहिलेको प्रणाली, त्यसमा अस्पतालहरुको सीमा, निजी र सरकारी अस्पतालका सेवाका विषय उठेका थिए । सेवा व्यवस्थापनमा धारणा राख्ने अधिकारीहरुले, विरामीहरु पैसा हुञ्जेल निजी अस्पतालमा उपचार गराउने, पैसा सकिएपछि सरकारी अस्पतालमा आउने गरेको अनुभव सुनाए । निःशुल्क उपचारका लागि आउने सेवाग्राहीका मनोविज्ञानमा कुरा गर्दै उनीहरुले , हुने खानेले निःशुल्क उपचारको सिफारिस लिएर आउने गरेकोले बताए । सिफारिसको पनि परीक्षण (अडिट) हुनुपर्ने उनीहरुको सुझाव थियो ।

छलफलमा अस्पतालका निर्देशक तथा प्रतिनिधिहरुले के भने ?

छलफलमा सिभिल अस्पतालका कार्यकारी निर्देशक प्राडा विधाननिधि पौडेलले, गएको आर्थिक बर्षमा अस्पतालले १० करोड ५० लाख रुपैयाँ बराबरको सहुलियत उपलब्ध गराएको जानकारी दिए । यो अस्पताल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालनमा छ ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले, शय्यामा निःशुल्क वेड लेखेर सेवा दिन थालिएको बताउँदै, यसरी सेवा लिनेको नाम सार्वजनिक हुने बताए । उनका अनुसार निःशुल्क उपचारका लागि गएको बर्ष सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएको थियो । अस्पतालले सेवामा ८ करोड खर्च ग¥यो । यो बीचको खर्च व्यवस्थापन गर्न कठिन छ उनको भनाई थियो ।

कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौलाले गएको आर्थिक वर्षमा अस्पतालले ६ करोड रुपैयाँ बराबरको निःशुल्क सेवा दिएको बताए । विकास समिति अन्तर्गत सञ्चालित अस्पताललाई सरकारले दिएको र आफूले गरेको आम्दानी मिलाउँदा पनि खर्च सन्तुलन मिलाउन कठिन भएको उनको भनाई थियो ।

वीरेन्द्र सैनिक अस्पतालका कमान्डन्ट डा भरत भण्डारीले भने, ‘हाम्रो अस्पतालले शुल्क लिँदैन । सबै सेवा निःशुल्क हुन्छन् । यो सैनिक कल्याणकारी कोषबाट सञ्चालन भएको अस्पताल हो । यसको सञ्चालनका लागि निर्माण भएको कार्यविधिमा गैरसैनिकलाई सेवा दिन सकिने व्यवस्था छैन । हाम्रो भूमिका विपदका समयमा सक्रिय हुन्छ ।’

यता राष्ट्रिय ट्रमा सेन्टरमा आउने विरामीहरु आर्थिक रुपमा नाजुक हुन्छन् । स्वास्थ्य अवस्था जटिल हुन्छ । अस्पतालका निमित्त निर्देशक डा. ममता भट्टराईले भनिन्, ‘प्रयोगशाला र अङ्ग प्रत्यारोपण जस्ता सेवा महङ्गो खालको सेवा हो । शय्या र सामान्य औषधि दिएर मात्र हुँदैन ।’

मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले भने, ‘मुटुको उपचारमा साधन महङ्गा हुन्छन् । एकैजनाका लागि १ लाख बढी लगानी हुन सक्छ । हामीले विरामीलाई निःशुल्क प्रदान गरे पनि हामीलाई निःशुल्क हुँदैन । त्यसैले निःशुल्क उपचारको कुरा गर्दा यो अवस्थाका बारेमा पनि सोच्नुपर्छ ।’

त्रि वि शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठ थपलियाले निःशुल्क उपचारमा आफूहरुले जिम्मेवारीभन्दा धेरै सेवा दिएको उल्लेख गरे ।

प्रहरी अस्पतालका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले जनशक्ति र स्रोतको अभावमा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्न बाँकी रहेको उल्लेख गरिन् ।

आयुर्वेदिक र परम्परागत चिकित्सा पद्धतिलाई प्रवर्धनमा अझै काम गर्न बाँकी रहेको आयुर्वेद अस्पतालका निर्देशक डा. प्रदीप केसीले धारणा राखे ।

परोपकार स्त्री तथा प्रसुति रोग अस्पतालका उपनिर्देशक डा. सन्तोष पौडेलले, नवजात शिशुलाई अर्को अस्पतालमा पठाउनु पर्दा आफूले दिएको निःशुल्क उपचार त्यहाँ पनि प्रदान हुन्छ कि हुँदैन भन्नेमा चिन्ता हुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *