स्वास्थ्यका लागि जोखिमपूर्ण हुने भन्दै काठमाडौँमा चटपटे, पानीपुरी र खाद्य तथा पेय पदार्थ बिक्रीमा रोक लगाउने तयारी
काठमाडौँ, २८ साउन । काठमाडौँ महानगरपालिकाले स्वास्थ्यका लागि जोखिमपूर्ण हुने भन्दै चटपटे, पानीपुरी, खुला दूध लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए ।
पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको उनले बताए ।
खुला दूध प्लास्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत भएको अधिकारीले बताए ।
बर्षायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन अनुगमनलाई कडाइ गरिने उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।
जसका लागि महानगरले बजार अनुगमनका लागि तत्काल टोली परिचालन गर्ने उनको भनाइ छ । उनले अनुगमन गरेर सचेत गराएर सुधारको मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउने बताएकी छिन् ।
त्यस्तै खुल्ला रुपमा वेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफुलको बजारमा निगरानी बढाउनु पर्ने पनि उपप्रमुख डंगोलले बताएकी छन् ।
यस्तै काठमाडौं महानगरले पानीको जार कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड विपरीत जार जफत र नष्ट र्गे अभियानलाई निरन्तरता दिने भएको छ ।
साथै व्यापारिक क्रियाकलापमा हुने निगरानीसँगै उपभोक्तालाई स्वच्छता र गुणस्तरका विषयमा सचेत गराउने काम पनि सँगै सञ्चालन गर्नुपर्ने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]