निक साइमन इन्स्टिच्युटले प्राप्त गरेको २० हजार डलरको पुरस्कारमा कर छुट दिने निर्णय

काठमाडौँ, १९ साउन । सरकारले निक साइमन इन्स्टिच्युटलाई विश्व स्वास्थ्य संगठनले प्रदान गरेको २० हजार डलरको सासाकावा हेल्थ अवार्डको रकममा कर छुट दिने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा निक साइमन इन्स्टिच्युटले यसवर्षको सासाकावा हेल्थ अवार्ड प्राप्त गरेको थियो । विश्व स्वास्थ्य संगठनले प्रदान गर्ने यो पुरस्कारको राशी २० हजार अमेरिकी डलर रहेको छ ।
गत १६ साउनमा बसेको मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा पुरस्कार रकममा असुल गर्नुपर्ने आकस्मिक लाभकर आर्थिक ऐन २०८० को दफा १८ को उपदफा १ बमोजिम छुट दिने निर्णय गरेको हो ।
सो उपदफामा प्रचलित कानूनमा जुन सुकै कुरा लेखिएको भए पनि नेपाल सरकारले आवश्यकता अनुसार यो ऐन र प्रचलित अन्य कानून बमोजिम लगाइएका दस्तुर शुल्क, महसुल वा करको दर घटाउन, बढाउन, वा त्यस्तो दस्तुर शुल्क महसुल वा कर आंशिक वा पूर्ण रुपमा छुट दिन सक्ने छ भनिएको छ ।
डब्लुएचओले विश्वभरका मानिसको स्वास्थ्यको सुधारमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति वा गैर सरकारी संस्थालाई प्रोत्साहन गर्ने उदेश्यले हरेक वर्ष सासाकावा हेल्थ अवार्ड प्रदान गर्ने गर्दछ ।
यो पुरस्कार सन् १९८४ मा जापानका शिप विल्डर्स एसोसिएसनका तत्कालीन अध्यक्ष रयोची सासाकावाको पहलमा डब्लुएचओका तत्कालिन महानिर्देशक हाल्फान महलरसंगको सम्झौतामा स्थापना भएको थियो । यो अवार्डका लागि डब्लुएचओका महानिर्देशकको अध्यक्षतामा रहने छनौट सिित र कार्यकारी बोर्डले भोट दिएर विजेताहरुको छनौट गरिन्छ ।
निक साइमन इस्टिच्युट विगत १६ वर्ष देखि नेपालमा ग्रामीण स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
डब्लुएचओले गत जेठको दोस्रो साता जेनेभामा आयोजित विशेष समारोहमा निक साइमन इस्टिच्युटलाई नगद र ट्रफी सहित अवार्ड वितरण गरेको थियो ।
सम्पर्क इमेल : [email protected]