एचईओसीको सुध्रिढिकरण कार्य सम्पन्न, १ करोड ३३ लाख बढी खर्च
डब्लुएचओद्धारा सुध्रिढिकरण कार्य सम्पन्न भएको प्रमाणपत्र स्वास्थ्यलाई हस्तान्तरण
काठमाडौँ, ९ साउन । सन् २०१५ मा नेपालमा गएको महाभूकम्प तथा सन् २०१९ को अन्त्य तिर देखा परेको कोभिड – १९ को महामारीको व्यवस्थापनमा स्वास्थ्य मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाई (एचईओसी) ले कसरी काम गर्यो स्वास्थ्य सरोकारवालाबीच जगजाहेर छ ।
स्वास्थ्यमा आपतकालिन अवस्था जुनसुकै बेला आउन सक्ने र यसको व्यवस्थापनका लागि एउटा सशक्त संयन्त्रको खाँचो पर्ने भन्दै उ बेला देखि नै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा मन्त्रालयले आफ्नो परिसरमा यो इकाई स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
सञ्चालनको केही वर्षसम्म सामान्य रुपमा चलेको यो इकाई पछिल्लो समय भने साधन स्रोत तथा प्राविधिक रुपमा सशक्त अवस्थामा देखिन्छ ।
वितेका केही वर्ष देखि यस इकाईलाई सुसज्जित, प्राविधिक रुपमा अद्यावधिक र विस्तारित गर्न थालिएको थियो । यसका लागि डब्लुएचओले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको थियो ।
मंगलबार दिउसो एचईओसी कै बैठक कक्षमा गरिएको एक सम्छिप्त कार्यक्रममा डब्लुएचओ नेपालका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले स्वास्थ्य सचिव डा रोशन पोखरेललाई एचईओसी सुध्रिढिकरणको कार्य सम्पन्न भएको भन्दै कार्यसम्पन्न प्रमाणपत्र हस्तान्तरण गरे ।
त्यसअघि डब्लुएचओले एचईओसीलाई सुसज्जित, प्राविधिक रुपमा अध्यावधिक र विस्तारित गर्नका लागि १ करोड ३३ लाख रुपैयाँ भन्दा बढी खर्च भएको विवरण प्रस्तुत गरेको थियो । उसले सो रकमबाट विभिन्न ३८ आइटमका प्राविधिक उपकरण तथा बस्तु खरीद गरेको विवरण समेत पेश गरेको छ ।
कार्यक्रममा डब्लुएचओका डा पाण्डवले केन्द्रीय तहको इकाई प्राविधिक रुपमा बलियो बनेको भन्दै अव विस्तारै प्रदेश तहका ईकाईलाई प्राविधिक साधन स्रोतबाट बलियो बनाउँदै लैजाने बताए ।
त्यसपछि कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डा पोखरेलले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि विश्व स्वास्थ्य संगठनले गरेको सहयोग अमूल्य भएको बताए । उनले एचईओसीको सुध्रिढिकरणले भविस्यमा हुनसक्ने आपतकालिन अवस्था तथा विपत व्यवस्थापनमा सहयोग हुने बताए ।
एचईओसीका प्रमुख डा समिरकुमार अधिकारीले कोभिडका बेला देखि नै डब्लुएचओले एचईओसीलाई खासगरी प्राविधिक रुपमा सुधिढ बनाउदै सुसज्जित तथा विस्तारका लागि सहयोग गरेको भन्दै त्यो कार्य सम्पन्न भएपछि आज मन्त्रालयलाई हस्तान्तरण गरेको बताए ।
उनले एचईओसीले जुनसुकै आपतविपतका बेला बाहिरी विश्वसंग सम्पर्क स्थापित गर्न सक्ने, अरु बेला प्रदेश तहमा रहेका आफ्ना शाखा, विभाग मन्त्रालय, डब्लुएचओ लगायतका कार्यलयसंग भरच्युअल रुपमा सम्पर्क स्थापित गरी काम गर्न सक्ने बताए ।
डा अधिकारीले डब्लुएचओ संघीय इकाईपछि एचईओसीको प्रदेश तहमा रहेका इकाईहरुको सुध्रिढिकरणमा लाग्न थालेको बताए ।
सम्पर्क इमेल : [email protected]