बिरामीको मृत्युपछि वीर अस्पतालमा दिनभर ‘लफडा’, घटना के थियो ?

काठमाडौँ, ७ साउन । बिरामीको मृत्युपछि वीर अस्पतालमा देखिएको ‘लफडा’ सुल्झिएको छ । बाराको कोल्हवी नगरपालिकाकी ५६ वर्षीया बिष्णु कुवँरको मृत्युपछि आफन्तहरुले चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै भन्दै हो हल्ला गरेका थिए ।

अपरान्हपछि परिवारका सदस्यलाई अस्पताल प्रशासनले मृत्युको बारेमा बिस्तृत जानकारी गराएपछि उनीहरु शब लिएर गाँउ फर्केका छन् ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले मृत्युको कारणबारे बुझाएपछि परिवार शव उठाउन सहमत भएको बताए । परिवारले यो घटनामा लापरवाही भएको छ कि छैन् भनेर निष्पक्ष छानविनका लागि अस्पताल प्रशासन समक्ष लिखित उजुरी समेत दिएको बताए ।

‘दिनभर, होहल्ला नाराबाजी भयो । लापरवाही भएको भन्दै क्षतिपूर्तिको माग थियो । तर हामीले मृत्युको सम्भावित कारणबारे उहाँहरुलाई बुझायौँ । त्यसपछि यसको अनुसन्धान त गर्नुपर्छ भनेर निवेदन दिनु भएको छ । हामीले त्यसलाई अघि बढाउँछौँ,’ डा. पौडेलले भने ।

घटना के भएको थियो ?
एउटा मिर्गौला काम नलाग्ने भएर फ्याक्नु पर्ने भएपछि चिकित्सकको सल्लाहमा गत १२ असारका दिन ५६ वर्षीया विष्णु कुँवर वीर अस्पतालमा भर्ना भएकी थिईन् । वीरका युरो सर्जन डा अनिल श्रेष्ठको नेतृत्वमा १३ असारका दिन उनको दुरविनको सहायतामा काम नलाग्ने मिर्गौला फ्याकिएको थियो ।

शल्यक्रिया पछि दुरविनको सहायताबाट गरिएको सो शल्यक्रियामा प्राविधिक गडबडी हुँदै आन्द्रामा प्वाल परेको थाहा भयो । चिकित्सकको टोलीले १६ असारमा उनको पुन शल्यक्रिया गरी आन्द्राको प्वाल टालि दिएका थिए । त्यसपछि उनी निको हुँदै गएकी थिईन् । तर ३ साउनका दिन उनीलाई पक्षघात भयो ।

त्यसयताको चार दिन आइसीयूमा उपचार गर्दा गर्दै उनको निधन भएको डा पौडेलले जानकारी दिए ।

‘मिर्गौलाको सर्जरी गर्दा सानो त्रुटि भएपनि त्यसलाई तत्कालै करेक्सन गरिएको थियो । पछि स्ट्रोक भइदियो र उहाँको ज्यान गयो । हामीले परिवारलाई यसबारे बुझाएपछि उहाँहरु कन्भिन्स भएर शव लिएर गाउँ फर्किनु भएको छ,’ डा पौडेलले भने ।

उनले शल्यक्रिया र मृत्युको कारण अन्तर सम्वन्धित मान्न नसकिने स्पष्ट पारे । ‘उहाँको शल्यक्रिया ठिक हुँदै थियो । हामी डिस्चार्ज गर्ने योजना बनाउँदै थियौँ तर स्ट्रोक भईदियो । यसले उहाँको ज्यान गयो । हामीले मानवीय सहायता स्वरुप उहाँको गाउँसम्म पुरयाउनका लागि शब बहानको व्यवस्था गरिदियौँ । उहाँहरु जानु भयो,’ डा पौडेलले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *