‘भन्सारको नयाँ नियमपछि भारतबाट औषधि आउन रोकियो’

काठमाडौँ, २ साउन । नेपालमा पैठारी हुने तयारी माल बस्तुको सन्दर्भमा भन्सार विभागले दिएको नयाँ निर्देशन पछि भारतबाट ल्याईने औषधि रोकिएको छ । औषधि व्यवसायी तथा आयातकर्ताहरुले नयाँ नियमले अन्योलता बढाएको भन्दै १ साउन देखि औषधि आयात बन्द गरेका हुन् ।

यसअघि उनीहरुले औषधि व्यवस्था विभाग, भन्सार विभाग, अर्थ मन्त्रालयका अधिकारीहरुसंग भेट गर्दै नयाँ व्यवस्था औषधिका क्षेत्रमा प्रयोग गर्न यथास्थितिमा सम्भव नहुने बताएका थिए । उनीहरुले यस्तो नियम लागू गर्नु अघि औषधि ऐनमा समेत संसोधन गर्नु पर्ने बताएका थिए ।

भन्सार विभागले गत ६ असारमा व्यापारिक संस्थाहरुलाई सम्वोधन गर्दै लेखेको पत्रमा आर्थिक विधेयक २०८० को भन्सार अनुसूची १ को दफा ८ को उपदफा १, २, ३ र ४ को व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न केही व्यवस्था परिवर्तन गरिएको उल्लेख छ ।

सो नयाँ व्यवस्थामा १ साउन देखि नेपालमा पैठारी हुने तयारी माल बस्तु बजारमा बिक्री बितरणका लागि पठाउनु अघि त्यस्ता माल बस्तुको प्याकिङमा आयातकर्ता र बजार बितरकको पुरा बिबरण भएको लेभल लगाएर मात्रै पठाउनु पर्ने भनेको छ ।

औषधि पैठारीकर्ताले औषधिका खोलहरु, सिरिन्जहरु, तथा अन्य सामग्रीमा कम्पनीबाट आएका निर्देशनलाई छोपिने गरी अर्को स्टिकर टाँस्ने व्यवस्था नभएको र त्यसो गरेमा औषधि ऐन विपरित हुने भनेका छन् । उनीहरुले छोटो समयमा ठूलो र असरदार निर्णय भन्सार विभागले गरेको आरोप लगाएका छन् ।

‘हामीले अर्थ मन्त्रालय, त्यस अन्तर्गतको भन्सार विभाग, औषधि व्यवस्था विभाग लगायतका मुख्य सरोकारवाला निकायका अधिकारीहरुलाई भेट्यौँ, भन्यौँ, लिखित सुझाव समेत दियौँ । तर अहिलेसम्म सुनुवाई भएको छैन् । अहिले तत्काल भने बमोजिम लेभल लगाएर औषधि नआउने र आएमा जफत गर्ने सरकारको तयारी भएपछि हामीले किन औषधि ल्याउने ? त्यसैले हिजो देखि औषधि वीरगञ्ज भन्सारबाट कुनै पनि औषधि बोकेका कन्टेनर छिरेका छैनन् । यसको असर विस्तारै बिरामीहरुमा देख्न सक्छ,’ नेपाल औषधि व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष प्रकाशकुमार खण्डेलवालले भने ।

उनले औषधि अरु तयारी बस्तु जस्तो नभएको र राज्यले यस विषयमा निर्णय लिदाँ विचार गरेर लिनु पर्ने थियो भन्दै दुख व्यक्त गरे । उनले दैनिक आउनु पर्ने औषधि नआउँदा यसको प्रत्यक्ष असर नेपाली बिरामीहरुमा पर्ने समेत बताए ।

वीरगञ्ज भन्सारका प्रमुख डिलाराम पन्थीले भने औषधि बोकेर आएका कन्टेनरहरु नरोकिएको बताए । ‘केही साथीहरुले नयाँ व्यवस्था बारेमा गुनासो गर्न आउनु भएको थियो । मैले सम्झाएर पठाएको छु । नीति नियम माथिबाट (केन्द्रबाट) बनेर आउने भएकोले सच्याउनु परेमा माथिबाटै सच्चिएर आउँछ । हामीलाई जे आदेश आउँछ त्यहि गर्ने हो,’ उनले भने ।  उनले औषधिका गाडीहरु समेत भित्रिएको दावी गरे ।

तर, औषधि आयातकर्ता संघले पनि नयाँ नियमले औषधि बोकेर आउने कन्टेनरहरु उतै रोकिएको बताएको छ ।

संघका महासचिव पवन आचार्यले दैनिक झण्डै १० वटा औषधि बोकेको कन्टेनर भित्रिने गरेकोमा नयाँ नियमले औषधि आउन छाडेको भन्दै यसको असर बिरामीलाई पर्ने र जिम्मा सरकारले लिनु पर्ने बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *