बिरामीले प्रयोग गर्ने पानीमा ‘कोलिफर्म’ भेटियो

156
Shares

पाल्पा । जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानी दूषित रहेको पाइएको छ। जिल्लाका ८९ वटा स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानीको जाँच गरिएकोमा ३४ वटा स्वास्थ्य संस्थाको पानी दूषित रहेको पाइएको हो।

स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाको दुई वटा नगरपालिकासहित आठ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा पानीको शुद्धता जाँच गरेको थियो। रिब्दीकोट गाउँपालिकाका आठ वटा स्वास्थ्य संस्थाको पानी जाँच गरिएकोमा छ वटा संस्थामा प्रयोग हुने पानीमा कोलिफर्म जीवाणु फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूधन भट्टराईले जानकारी दिए । । कोलिफर्म तातो रगत भएका जीवजन्तु तथा मानिसको दिशामा पाइने एक प्रकारको जीवाणु हो।

यस्तै माथागढीको १२ वटा स्वास्थ्य संस्थामा जाँच गरिएकोमा छ वटामा, बगनासकालीको आठ वटामा जाँच गर्दा छ वटा स्वास्थ्य संस्थाको पानी दूषित भेटिएको छ। रैनादेवी छहराको नौ वटामा जाँच गरिएकोमा तीन वटामा कोलिफर्म भेटियो भने तिनाउका आठ वटाको जाँच गर्दा तीन, रम्भाको आठमा दुई, निस्दीको आठमा तीन, रामपुरको छ वटा जाँच गरिएकोमा तीन र तानसेनको १२ को जाँच गर्दा एक वटा संस्थाको पानीमा कोलिफर्म जीवाणु फेला परेको भट्टराईले बताए ।

स्वास्थ्य कार्यालयले पानीको गुणस्तर सुधार तथा सचेतना अभिवृद्धि गर्न र महामारीबाट बच्न यो वर्ष पानीको जाँच गरिएको जनाएको छ। जाँच गरिएकामध्ये ४० प्रतिशत पानी दूषित रहेको पाइएको कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले बताए । दूषित भेटिएको पानीको गुणस्तर सुधार गर्न पालिकाको स्वास्थ्य शाखालाई आवश्यक सुझाव दिइएको उनले बताए । जाँचपछि अधिकांश स्वास्थ्य संस्थाको पानीको गुणस्तर सुधार भएको उनको भनाई छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानी दूषित हुनु गम्भीर विषय भएकाले पालिका र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताए । उनले भने, “स्वास्थ्य संस्थाकै पानी दूषित देखिनु गम्भीर विषय हो। अझ आमनागरिक, विद्यालयका बालबालिका तथा होटलमा प्रयोग हुने पिउने पानीको अवस्था कस्तो होला ?’ सर्वसाधारण नागरिकले प्रयोग गर्ने पानीको गुणस्तरबारे स्थानीय तह र खानेपानी कार्यालयले आवश्यक काम तथा जनचेतना अभिवृद्धिका कार्यक्रम गर्नुपर्नेमा प्रजिअ बास्तोलाले जोड दिए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका प्रमुख अनुप उपाध्यायले खानेपानीको शुद्धताका लागि उपभोक्तालाई सचेत बनाउने कार्य भइरहेको बताए । उनले पानी दूषित मानिसको व्यवहारका कारण पनि हुन सक्ने भएकाले दूषित भएको स्थानको पहिचान गरेर आवश्यक सावधानी अपनाउन जोड दिए ।

स्वास्थ्य कार्यालयले पानीको धमिलोपना, इकोली, कोलिफर्म, क्लोरिन, कन्डक्टिभिटी, पिएचलगायतका जाँच गरेको थियो। जिल्लाको स्वास्थ्य संस्थामा प्रयोग हुने पानीको गुणस्तर सुधार गर्न आगामी दिनमा पनि पानी जाँचको कार्य निरन्तर हुने कार्यालयका सूचना अधिकारी टीकाराम अधिकारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *