पाल्पा बन्यो पूर्णखोप दिगोपना सुनिश्चिता जिल्ला
पाल्पा, २९ असार । पाल्पा जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । जिल्लाका १० ओटै स्थानीय तह हरुमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरेपछि बिहीबार जिल्लालाई पूर्णखोप दिगोपना घोषणा गरिएको हो ।
हरेक बर्षको जेठ महिनामा पालिकाहरुलाई पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरिन्छ । जिल्ला खोप समन्वय समितिले सबै स्थानीय तहको सबै वडामा पुगी लक्षित बालबालिका भएका घरमा पुगेर सुलभ सर्वेक्षण गरी त्यसबाट एकीन भएपछि पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिन्छ ।
बिहीबार तानसेनमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा प्रतिवेदन २०८० प्रस्तुत गरेका थिए । उनले जिल्लाका १६ देखी ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पर्ने सबै खोप दिलाई पूर्णखोप पाएको सुनिश्चितता गरिएको बताए ।
पूर्णखोप सुनिश्चितता कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले आगामी बर्षहरुमा पनि निरन्तरता दिने प्रतिवद्धता गरेको छ । कार्यक्रमका सहभागिहरुले प्रतिवद्धतामा हस्ताक्षर समेत गरेका छन् ।
कार्यक्रममा प्रदेश खोप समन्वय समिति लुम्बिनी प्रदेशका सदस्य सचिव डा विनोद कुमार गिरीले खोप समन्वय समिति पाल्पाका संयोजक टंकनाथ खनाल र सदस्य सचिव राजेन्द्र गिरीलाई पूर्णखोप सुनिश्चितता घोषणा प्रमाणपत्र प्रदान गरेका थिए ।
स्वास्थ्य निर्देशनालयका डाक्टर गिरीले पूर्णखोप घोषणा गर्नु आफैमा महत्वपूर्ण कार्य भएता पनि यसको दिगोपना कायम गरि निरन्तरता दिनु अझै महत्वपूर्ण जिम्मेवारी भएको बताए ।
पाल्पा १३ फागुन २०७० मा पहिलो पटक पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा भएको थियो ।
समितिका अनुसार गत आर्थिक बर्षमा ३ हजार ८ सय ५५ जना र चालु आर्थिक बर्षमा ३ हजार २ सय ३१ जनाले पूर्ण खोप पाएका छन् ।
कार्यक्रममा संघीय सांसद ठाकुरप्रसाद गैरे, लुम्बिीनीका प्रदेश सांसदद्धय बीरवहादुर राना र खेम सारु, तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठ लगायतले खोप सुनिश्चितता साथै दीगोपनाको विषयमा धारणा राखेका थिए ।
सो अवसरमा सबै पालिकाका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुखहरुलाई सम्मान गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]