राष्ट्रपति कार्यालयमा अत्याधुनिक ‘ट्रिटमेन्ट सेटअप’ बनाईदै
काठमाडौँ, २८ असार । राष्ट्रपति रामचन्द्र पौडेल पछिल्लो समय अलि अस्वस्थ देखिए । उपचारका लागि उनलाई भारतको नयाँ दिल्ली सम्म पुर्याउनु पर्यो । उताबाट आएपछि पनि उनको समस्या पूर्ण समाधान देखिएन । त्रिवि शिक्षण अस्पताल र मनमोहन कार्डियोथोरासिकमा आइजाई गरिरहन पर्यो ।
कहिलेकाँही गरिने सामान्य परीक्षण तथा चलाउनु पर्ने सामान्य औषधिका लागि समेत अस्पताल जानु पर्ने भएपछि कार्यालयले निवासमै एक सुविधायुक्त उपचार सेटअप गराउने तयारी रहेको छ ।
त्यसो त अहिले पनि शितल निवासमा पहिलो राष्ट्रपति डा रामबरण यादवको पालामा तयार गरिएको सामान्य बेड सहितको सेटअफ छ । तर अहिले बनाउन लागिएको मोनिटर सहितकै सहितको अलि व्यवस्थित सेटअप हो ।
‘उपकरणहरुको हिसावले कुरा गर्दा यसलाई आईसीयू लेभलकै भन्न मिल्ला । तर हामीले यो भनेका छैनौँ, भिभिआईपीहरुको लागि इमरजेन्सी अवस्था पर्दा राखेर उपचार गर्ने एउटा सुविधायुक्त ठाउँ बनाउन लागिएको हो, जहाँ आवश्यक परेका बेला सामान्य उपचार त्यहि गर्न सकियोस् ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।
यता स्वास्थ्य मन्त्रालय स्रोतले राष्ट्रपति कार्यालयबाट मेडिकल ट्रिटमेन्ट सेटअप तयार पार्नका लागि केही सामाग्री उपलव्ध गराईदिन पत्र आएको पुष्टि गरेको छ । मन्त्रालयले आफूकहाँ आएको पत्रलाई स्वास्थ्य सेवा विभाग तर्फ पठाइदिएको समेत जानकारी दियो । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले केही सामग्रीका लागि पत्र आएको आफूले विभाग तर्फ ‘फरवार्ड’ गरिदिएको बताए ।
उता विभागका अधिकारीहरुले ट्रिटमेन्ट सेटअपका लागि बेड र केही उपकरण सहितका सामग्री राष्ट्रपति कार्यालयले खोजेको बताए । तर उनीहरुले के के सामग्री हुन् भनेर खुलाउन चाहेनन् ।
दिल्लीको म्याक्स अस्पतालमा उपचार गरेर फर्केपछि पुन स्वास्थ्यमा समस्या देखिँदा राष्ट्रपति त्रिवि शिक्षण अस्पताल र संगैको मनमोहन कार्डियो थोरासिक अस्पतालमा केही समय भर्ना भएरै उपचार गराउनु परेको थियो ।
उनको गत ५ असारमा मुटुमा पेशमेकर राखेर १३ असारमा डिस्चार्ज गरिएको थियो । बुधबार उनको स्वास्थ्य अवस्था बुझ्न डा भगवान कोइराला सहितको टिम शितल निवास पुगेको थियो ।
टोलीले राष्ट्रपतिको पछिल्लो स्वास्थ्य अवस्थामा सुधार आएको र सामान्य रहेको बतायो ।
सम्पर्क इमेल : [email protected]