राष्ट्रपति पौडेलको दिल्ली उपचार सरकारको खर्चमै, परराष्ट्रले अर्थलाई पठायो ५५ लाख बढीको बिल

 

काठमाडौँ, १९ असार । राष्ट्रपति रामचन्द्र पौडेलले दिल्लीको उपचार खर्च आफैँ बेहोर्ने कुरा घोषणामै सीमित भएको छ । उपचारको संयोजन गरेको परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको उपचार खर्च भुक्तानीका लागि भन्दै ५५ लाख २ हजार २७९ रुपैयाँ माग गर्दै अर्थ मन्त्रालयमा पत्र पठाएको छ ।

मंगलबार मध्यान्न हेल्थपाटी डटकमले राष्ट्रपतिको उपचार खर्च सम्वन्धमा परराष्ट्रले पठाएको बिल सहितको पत्र सार्वजनिक गरिदिएपछि खर्च सरकारले नै बेहोर्ने खुलासा भएको हो । पत्र सार्वजनिक भएपछि गत १२ असारको मन्त्रिपरिषद्ले नै उपचार खर्च व्यहोर्ने निर्णय गरेको समेत खुलासा भएको छ ।

अनलाइन खवरका अनुसार मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले बताएका छन् ।

अर्थ मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार मंगलबार बिहान परराष्ट्र मन्त्रालयको पत्र अर्थ मन्त्रालयमा पुगेको छ।

अर्थ मन्त्रालयले राष्ट्रपतिको उपचारको बिल भर्पाइका लागि ५५ लाख ४ हजार ६५४ रुपैयाँसम्म दिन सकिने सहमति गरेको परराष्ट्रको पत्रमा उल्लेख छ । प्रचलित कानुन तथा स्वीकृत मापदण्डअनुसार अर्थको सहमति आएकाले सोमबार मात्रै परराष्ट्र मन्त्रालयले सचिवस्तरको निर्णय गरी उपचार खर्च भुक्तानी माग गरेको छ ।

राष्ट्रपति पौडेलसँग उपचारका लागि दिल्लीमा राष्ट्रपतिसहित ११ जना गएको विवरण पनि परराष्ट्र मन्त्रालयले पठाएको छ ।

राष्ट्रपति पत्नीसहित छोरा, २ नाति, शिष्टाचार महापाल तथा सुरक्षाकर्मी लगायत गरी दिल्लो जाने ११ जनाको विवरण पनि अर्थमा पठाइएको छ ।

राष्ट्रपति पौडेललाई गत ६ बैशाखमा दिल्ली लगिएको थियो । दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गराएर पौडेल १७ बैशाखमा नेपाल फर्किएका थिए ।

सामान्य उपचारका लागि राज्यकोषको रकम दुरुपयोग गरी दिल्ली गएको भनी आलोचना भएको थियो । त्यसपछि राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले वैशाख १९ गते प्रेस नोट जारी गरी पौडेलले उपचार खर्च आफैँ बेहोर्ने जानकारी गराएका थिए ।

उक्त प्रेस नोटमा राष्ट्रपतिले दिल्लीको उपचार खर्च बेहोर्ने निर्णय गरेको भन्दा पनि चाहाना राखेको भनिएको थियो । आफैँ बेहोर्ने इच्छा व्यक्त गरेको भनिए पनि अहिले अर्थ मन्त्रालयसँग रकम माग गरिएको हो ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *