पाल्पामा दुई भन्दा बढी सन्तान जन्माउनेलाई ५ हजार रुपैयाँ पुरस्कार !

पाल्पा, १९ असार । पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

दुईभन्दा बढी सन्तान जन्माएर वडामा जन्मदर्ता गर्न आउनेलाई पुरस्कारस्वरूप पाँच हजार रुपैयाँ दिने वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए ।

‘गाउँमा जनसंख्या बृद्धिदर घट्यो, यसको असर खेतबारी बाँझो हुन थाल्यो, विद्यालयमा विद्यार्थी कम हुँदा एकआपसमा गाभ्नुपर्ने अवस्था आयो वडाध्यक्ष पोखरेलले भने त्यसैले जनसङ्ख्या बृद्धि गर्नका लागि पनि पुस्कारस्वरूप पाँच हजार रुपैयाँ दिने निर्णय गरेका हौँ,’ वडाध्यक्ष पोखरेलले भने ।

जनसङ्ख्या बढी भएको देशमामात्रै विकास भएको भन्दै जनसङ्ख्या कम भएकाले पनि गाउँका खेतबारी बाँझै भएको उनको दावी छ ।

यो कार्यक्रम आउँदो साउन १ गतेदेखि लागू हुने छ ।

यो वर्षका लागि ६० हजार रुपैयाँ बजेट छुट्याएकाले १२ जनाले अहिले पुरस्कार प्राप्त गर्ने भन्दै वडा कार्यालयले आउँदो वर्ष यो कार्यक्रमलाई थप बजेट छुट्याइने जनाएको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार रिब्दीकोट गाउँपालिका वडा नम्बर १ मा २ हजार ३४ जनसंख्या थियो । तर जनगणना २०७८ अनुसार ३ सय जनसंख्या घटेर जम्मा २ हजार ६० मा आएको वडा अध्यक्ष पोख्रेलले जानकारी दिए ।

वडाको घट्दो जनसंख्याको अवस्थाले थप चिन्ता बढाएका कारण दीर्घकालीन योजनाका साथ वडाले यो घोषणा गरेको उनले बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *