स्वास्थ्य सेवामा थपिए २९५ जना नर्स, मन्त्रालयले बाढ्यो नियुक्ती पत्र
काठमाडौँ, १८ असार । स्वास्थ्य सेवामा आजबाट २९५ जना प्राविधिक जनशक्ति थपिएका छन् । लोक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी नियुक्तीका लागि सिफारिस भएका २९५ जना स्टाफ नर्सलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियुक्ती पत्र बाँढेको छ ।
मन्त्रालयका अनुसार कुल २९५ मध्ये २४६ जना नर्सलाई वीर अस्पतालमा पदस्थापन गरिएको छ । बाँकी ४९ जनालाई देशका विभिन्न स्थानमा रहेका संघीय अस्पतालमा पदस्थापन गरिने बताइएको छ ।
नियुक्ती पत्र दिनु अघि स्वास्थ्य मन्त्रालयमा भेला भएका नर्सहरुलाई स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले सरकारी सेवामा प्रवेश गरेको भन्दै स्वागत गरेका थिए ।
मन्त्रालयको सभा हलमा सबै नर्सहरुलाई भेला गरेर उनले सेवाभावले आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिए । नर्सहरुको बोली व्यवहारले बिरामीको आधा रोग निको हुने भन्दै स्वास्थ्य सम्वेदनशीलता ख्याल गरेर काम गर्न आग्रह गरे ।
कार्यक्रममा स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले साढे २६ सय बढी सघीय स्वास्थ्य मन्त्रालयको कर्मचारीमा आज थप २९५ जना थपिएको भन्दै खुशी व्यक्त गरिन् । उनले पनि नर्स र बिरामीको सम्वन्धको बारेमा बुझाउने कोशिश गरिन् ।
यस्तै अर्का सचिव डा रोशन पोखरेलले पछिल्लो समय विरामीपक्षबाट आउने गुनासो नर्सको व्यवहारको विषयमा पनि हुने भन्दै नयाँ नर्सहरुले त्यसलाई विशेष ध्यान दिने अपेक्षा रहेको बताए । उनले पनि स्वास्थ्य सेवामा प्रवेश गरेको भन्दै बधाई दिए ।
२९५ जना नर्स, तिनका आफन्त, मन्त्री सचिव, अतिरिक्त सचिव तथा मन्त्रालयका कर्मचारी तथा सञ्चारकर्मीलाई मन्त्रालयको सभाहलमा बोलाई कार्यक्रम गर्दा अलि अस्तव्यस्त देखिथ्यो ।
सम्पर्क इमेल : [email protected]