सुदर्शन देवकोटा स्मृति तेस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार जुनु भट्टराईलाई

बिराटनगर, ८ असार । सुदर्शन देवकोटा स्मृति तेस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार यसवर्ष बिराटनगरकी पत्रकार जुनु भट्टराईलाई प्रदान गरिएको छ ।

शारदा सुदर्शन देवकोटा स्मृति फाउन्डेशनले स्वास्थ्य पत्रकार मञ्च नेपाल संगको सहकार्यमा स्थापना गरेको सो पुरस्कार पाउने उनी मोफसलकी पहिलो पत्रकार हुन् ।
यसअघि सो पुरस्कार काठमाडौँमा एपी वान टेलिभिजनकी सपना पौडेल र नागरिक दैनिककी पत्रकार पवित्रा सुनारले प्राप्त गरेका थिए ।

पुरस्कारको राशी ३३ हजार ३३३ रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

लामो समय काठमाडौँमा रहेर स्वास्थ्य पत्रकारिता गरिरहेकी भट्टराई पछिल्लो समय बिराटनगरलाई आधार बनाएर सोही कामलाई निरन्तरता दिएकी छन् ।

शुक्रबार बिराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका सभामुख बाबुराम गौतम, कोशी प्रदेशका स्वास्थ्य मन्त्री तिलकुमार म्याङ्बो, फाउण्डेशनका अध्यक्ष डा सुधा देवकोटा र स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रदेशका पूर्व स्वास्थ्य मन्त्री जयराम यादव, फाउण्डेशनका कार्यकारी निर्देशक डा तेजकुमार बास्तोला र नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलावल्लभ घिमिरे लगायत सहभागी थिए ।

सो अवसरमा बोल्दै सभामुख गौतमले स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न पाउनु आफ्नो लागि पनि महत्वपूर्ण रहेको बताए । उनले बाबु आमाका नाममा पुरस्कार स्थापना गर्ने सन्ततीको प्रशंसा गर्दै यसले स्वास्थ्य क्षेत्र सुधारका लागि समेत सहयोग पुग्ने बताए । पुरस्कारले पत्रकारलाई हौसला बढ्छ । थप नयाँ नयाँ कुराहरु आउछन् । त्यसैले यो आफ्नो मातापिताको सम्झना र सामाजिक सेवा दुबै रहेको बताए ।

स्वास्थ्य मन्त्री म्याङ्बोले फाउण्डेशनले स्वास्थ्य क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई पुरस्कृत गर्ने कदमलाई नयाँ अवधारणा भन्दै प्रशंसा गरे । उनले पुरस्कारले पत्रकारहरुलाई थप हौसला हुने बताए । उनले स्वास्थ्य विषय जटिल विषय हो भन्दै यसमा क्रियाशिल रहेर पुरस्कार प्राप्त गरेको भन्दै यसबाट प्रेरणा जाग्ने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानकी अध्यक्ष डा देवकोटाले आफ्नो बुबाको नाममा स्थापित गरेको पुरस्कारको चर्चा गर्दै पत्रकारिता के हो भन्ने विषयमा आफूले बुबाबाटै थाहा पाएको बताईन् । ‘बाबा लामो समय कान्तिपुरमा काम गर्नु भयो । हामीलाई पढाउनु भयो । यत्तिको बनाउनु भयो । हामी छोराछोरीले उहाँको कार्यलाई कसरी सम्झने भनेर नै यो पुरस्कार वितरण गर्ने कार्यको थालनी गरेका हौँ,’देवकोटाले भनिन् । उनले पत्रकारितालाई सही ढंगले लैजानुपर्नेमा समेत जोड दिईन् ।

मञ्चका अध्यक्ष ढुंगेलले पत्रकार पुरस्कार गर्ने कार्यमा फाउण्डेशनसंगको आवद्धताबारेमा प्रकाश पारे । उनले स्वास्थ्य विटमा अहिले धेरै पत्रकारहरुको आकर्षण थपिएको भन्दै यसलाई थप व्यवस्थित गर्दै अघि बढाउनु पर्नेमा जोड दिए । उनले कोभिड महामारीका बेला स्वास्थ्य पत्रकारहरु फिल्डमा खटिएर जसरी काम गरिरहेका थिए त्यसैबेला फाउण्डेशनका तर्फबाट उत्प्रेरणा दिने गरी स्वास्थ्य पत्रकारलाई पुरस्कृत गर्ने गरी मञ्चसंग सहकार्य गर्ने प्रस्ताव आएको भन्दै यसलाई देशव्यापी बनाउने योजनाका साथ अघि बढेको बताए । उनले नेपालको स्वास्थ्य क्षेत्र सुधार स्वास्थ्य सचेतनामा स्वास्थ्य पत्रकारहरुको भूमिका अग्रणी रहेको बताए ।

कार्यक्रममा फाउण्डेशन, पुरस्कारको स्थापना र मञ्चसंगको सहकार्यबारेमा कार्यकारी निर्देशक बास्तोलाले प्रकाश पारेका थिए । उनले मञ्चसंगको यो सहकार्यलाई थप व्यवस्थित बनाई अघि बढाउने बताए ।

पुरस्कृत पत्रकार जुनु भट्टराईले लामो समय देखि गरेको कामको आफूलाई आशिर्वाद मिलेको बताईन् । उनले आफूले कर्ममा विश्वास राख्ने भन्दै काम गर्दै जाँदा फल पनि मिल्ने रहेछ भन्दै खुशी व्यक्त गरिन् । उनले यसबाट आफूलाई भविश्यमा थप काम गर्न हौसला मिलेको बताईन् ।

कार्यक्रममा पूर्वमन्त्री यादव, मञ्चका सल्लाहकार बुद्धि कट्टेल, सदस्य प्रकाश बस्याल लगायतले बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *