आँखाको नानी प्रत्यारोपणबाट १२ हजार भन्दा बढी नेपालीलाई पुनर्दृष्टि
मृत्यु पछि आँखा दानको प्रतिवद्धता गर्नेको संख्या एक लाख नाघ्यो
काठमाडौँ, २६ जेठ । नेपालमा १२ हजार भन्दा बढी व्यक्तिमा आँखाको नानी प्रत्यारोपण गरिएको छ । मृत्यु भएका व्यक्तिको आँखाको नानी परिवारले दान मार्फत उपलव्ध गराउँदा विभिन्न कारणले आँखाको नानी बिग्रिएर दृष्टिविहीन बनेका उनीहरुले पुनर्दृष्टि प्राप्त गरेका हुन् ।
यस्तै मृत्यु पछि आँखा दान गर्छु भनेर प्रतिवद्धता जनाउनेको संख्या अहिले १ लाख नाघेको छ ।
त्यसो त नेपालको आँखा सेवा कार्यक्रम विश्वमै चर्चित छ । खासगरी कम पैसामा हुने मोतिविन्दुको अप्रेसन, सस्तैमा हालिने आँखाको लेन्सका कारण पनि यो कार्यक्रम विश्ममा परिचित भएको हो ।
यस्तै परिचित छ आँखाको नानी प्रत्यारोपण कार्यक्रम ।
सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैंकको स्थापना भएपछि नेपालमा यो सेवा सहज भएको हो । त्यस यताको झण्डै २७ वर्षमा यो कार्यक्रम विस्तारै गति लिदै आएको हो ।
कसरी सञ्चालित छ यो सेवा ?
आँखा बैकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन,परीक्षण र संचय लगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गदर्छ ।
सुरुवातको अवस्थामा पशुपतिको आर्यघाट लगायत विभिन्न ठाँउमा गएर आँखा दान सम्बन्धि मानिसहरुमा जनचेतना जगाई यस सम्बन्धी बुझाइन्थ्या भने अहिले यी सँगै आर्यघाट विद्युतीय शवदाह गृह लगायत काठमाडौंमा रहेका ४ वटा ठूला अस्पताल वीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल,गंगालाल मुटु अस्पताल र पाटन अस्पतालमा आँखा बैकबाट खटाइएका परामर्शदाताहरुले परामर्श तथा जानकारी दिने काम पनि गरिन्छ, जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो क्रममा छ ।
त्यस्तै गरेर स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लाहान, हेटौडा, भरतपुर,लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी संकलन केन्द्रहरु स्थापना भई आँखाको नानीहरु संकलन गरिरहेको छ ।
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्ग भन्छिन्, ‘धेरैभन्दा धेरै मानिसहरुलाइ मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई कृतज्ञता प्रदान गर्न, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदानप्रदान गर्न र दिवंगत आत्माको चिरशान्तिको लागि सामूहिक श्रद्धाञ्जली अर्पण गर्नु यस सभाको मुख्य उद्देश्य हो । अहिले धेरै मानिसहरुको आँखा दान प्रति सकारात्मक सोचको कारणले गर्दा आँखाको नानी प्रत्यारोपण गरी पूनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुदैछ । नेपाल भरि आँखा बैंकको सेवा दिई राखेका छौँ ।’
नेपाल आँखा बैंकका व्यवस्थापक शंख नारायण त्वायना भन्छन् , ‘मानिसको मृत्युपश्चात जसरी धार्मिक रितीरिवाज अनुसार संस्कार गरिन्छ त्यसरी नै आँखादान लाई पनि संस्कारको रुपमा स्थापित गर्न सके दृष्टिविहिनलाई पूःन दृष्टि प्रदान गर्न अझ प्रभावकारी सावित हुनसक्छ । नेपालमा आँखादान गर्न र गराउनको लागि जनमानसलाई सु–सूचित गर्ने उद्देश्यले नेपाल आँखादान समाजको पनि स्थापना भएको छ । यसले नेपालभरि सबै क्षेत्रमा शाखा-प्रशाखा मार्फत आँखादान सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरि आँखाको नानीको कारणले दृष्टिविहिन भएकालाई देख्न देखाउन कार्यक्रमहरुको तर्जुमा गरेको छ । यसमा कोही शुभचिन्तक आफ्नो स्थानीयस्तरमा समाहित भएर लाग्न सक्नुहुनेछ ।’ बैंकमा आँखाको नानी शुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने हाल आँखाको नानी देश भित्रबाटै संकलन गरि स्वदेशका अन्य अस्पतालमा समेत प्रत्यारोपण सुविधा उपल्ब्ध गराएको छ ।
कस्ता व्यक्तिलाई हुँदैछ लाभ ?
कार्यकारी निर्देशक डा गुरुङका अनुसार आँखाको नानीमा संक्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा,अज्ञानता र गरिबीको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य हानिकारक परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ ।
नेपालमा दृष्टिविहिन हुनुको दोश्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर हो । जसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपण गरि पुनः दृष्टि दिलाउनु नै हो ।
नेपालमा आँखाको नानीका कारण दृष्टिविहिन भएका थुप्रै व्यक्तिहरु छन् जो फेरि यो संसार नियाल्ने पर्खाइमा छन् । उनी भन्छिन्, ‘त्यस्ता व्यक्तिहरुका लागि तपाईँ हामीले मृत्यु पश्चात आँखा दान गरिदिने हो भने दुई देखि चार दृष्टिविहिनले यो संसार पुनः देख्न पाउँछन् । त्यस्ता व्यक्तिहरुका लागि नेपाल आँखा बैंकले सुरु गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान सावित भएको छ ।’
आँखा दान गर्नेहरुको सम्झनामा सामुहिक श्रद्धान्जली सभा
यसैबीच दृष्टिविहिनहरुलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रम अन्तर्गतको नेपाल आँखा बैंकले हरेक वर्ष मरणोपरान्त आँखाको नानी दान गर्नेहरुको सम्झना र सम्मानमा सामुहिक श्रद्धाञ्जली–सभा को आयोजना गर्दै आएको छ ।
तर, यसअघिको तीन वर्ष कोभिड १९ को महामारीको कारण रोकिएको थियो ।
यसपटक भने त्यसलार्य निरन्तरता दिने भएको छ । आँखा बैंकले २७ जेठ (भोलि) आँखाको दाँन गर्नेहरुको सम्झनामा उनीहरुको परिवारको समेत उपस्थितिमा सामुहिक श्रद्धान्जली सभा कार्यक्रम आयोजना गर्ने भएको हो ।
सम्पर्क इमेल : [email protected]