अस्पतालहरुले अब १० प्रतिशत शैय्या विपन्न, असाहाय र वेवारिसे बिरामीका लागि छुट्याउनै पर्ने

काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरपालिका भित्र सञ्चालित अस्पतालहरुले अब आफूसंग भएको कुल शैय्याको १० प्रतिशत शैय्या विपन्न असहाय र वेवारिसे बिरामीको निशुल्क उपचार सेवाका लागि छुट्याउनु पर्ने भएको छ ।

महानगरपालिकाले गत २ जेठमा सूचना प्रकाशित गर्दै सबै अस्पतालहरुलाई १० प्रतिशत शैय्या विपन्न असहाय र बेवारिसे बिरामीको निशुल्क उपचारका लागि छुट्याउन भनेको हो ।

महानगरको स्वास्थ्य विभागले जारी गरेको सूचनाको अन्तिममा भनिएको छ,  ‘यदि सूचना अनुसार यसको कार्यान्व्यन नभएको पाइएमा त्यस्ता अस्पतालहरु माथि महानगरपालिकाको नियमानुसार कारवाही भै जाने छ ।’

महानगरपालिकाले १० प्रतिशत शैय्या निशुल्क गर्ने सम्वन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ)लाई अगाडी सारेको छ । सो बुँदामा, ‘अस्पतालमा उपचारका लागि आउने विपन्न असहाय बेबारिसे बिरामीका लागि कुल शैय्याको दश प्रतिशत शैय्या छुट्याई निशुल्क उपचार अनिवार्य रुपमा गराउनु पर्नेछ,’ भनिएको छ ।

त्यसो त १० प्रतिशत शैय्या यसअघि पनि सरकारले कार्यन्वयनमा ल्याउन खोजिरहेको हो । तर अस्पतालहरुले यसमा अटेरी गर्दै आए । कतिपयले केही बेडहरु छुट्याएको भने पनि कतिपयले भने यससम्वन्धी विषयमा झारा टार्दै गए ।

काठमाडौँ महानगरले यसमा चासो देखाए पछि भने यसको कार्यान्वयमा आउँछ कि भन्ने आशा जागेको आम सर्वसाधारणको भनाई छ ।

महानगरले स्थानीय सरकार संञ्चालन ऐन २०७४ दफा ११(४) ख २ मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानूनी अधिकार स्थानीय तहलाई भएकोले आफूले त्यसमा अघि बढेको जनाएको छ ।

महानगरले १० प्रतिशत शैय्या निशुल्क उपलव्ध गराउने अलावा अस्पतालहरुलाई थप ६ बुँदे निर्देशन समेत दिएको छ ।

जसमा सेवाग्राही मैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुको प्रचलित कानूनले तोकेको न्युनतम पारिश्रमिक उपलव्ध गराउने, स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन गर्ने लगायतका विषय उल्लेख गरेको छ ।

यस्तै अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरुलाई सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग समूहको पहुँच योग्य बनाउन भनेको छ ।

सूचनामा उल्लेखित विषयका अतिरिक्त लक्षित वर्गले निशुल्क सेवा लिएका व्यक्तिहरुको विवरण टाँस गर्ने लगायतका कार्यहरु नगरे कारवाही हुने भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *