डडेल्धुरा अस्पतालको अध्यक्ष मनोनयनमा विवाद:

प्रधानमन्त्री प्रचण्डको निर्णय १० दिनमै उल्ट्याईदिए स्वास्थ्य मन्त्री बस्नेतले

यसअघि एक एक कार्यकाल अध्यक्ष भएका थिए दुबै जना

काठमाडौँ, ४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हालेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत १७ बैशाखमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गर्दै २३ बैशाख देखि लागु हुने गरी डडेल्धुरा अस्पतालको अध्यक्ष पदमा लक्ष्मण सिंहलाई तीन वर्षका लागि मनोनयन गरेका थिए ।

स्वास्थ्य मन्त्रालयले २६ बैशाखमा मनोनयन पत्र बनाइदियो । सो पत्र लिएर सिंह डडेल्धुरा पुगे र अस्पतालको कार्यभार सम्हाल्न थाले । तर मनोनयन भएको सात दिन नपुग्दै उनले थाहा पाए आफ्नो नियुक्ती बर्तमान स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बदर गरिदिएका छन् । ‘सामाजिक सञ्जालबाट थाहा पाए अस्पतालको अध्यक्ष पदमा त फेरी करुणाकर ओझालाई मनोनयन गरिएछ,’ सिंहले भने ।

हुन पनि स्वास्थ्य मन्त्री बस्नेतले हिजो (३ जेठमा) मन्त्रीस्तरीय निर्णय गर्दै करुणाकर ओझालाई डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले ७ दिनको अन्तरमा दुई जना व्यक्तिलाई डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष बनाइएको पत्र थमाएको छ । पत्रमा लेखिएको व्यहोरा र पदावधि पनि एउटै छ ।

दुबै पत्रमा, ‘तपाईँलाई अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३ को उपदफा (२) क बमोजिम डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा ३ वर्ष पदावधि रहने गरी मनोनित गरिएको व्यहोरा जानकारी गराएको छु,’ भन्ने उल्लेख छ । मन्त्री बस्नेतले सिंहलाई अध्यक्ष बनाउने यसअघि भएको निर्णय बदर गरिदिएका छन् ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. चेतराज भट्टले आफूले ओझालाई अध्यक्षमा मनोनयन गरिएको र सिंहको मनोनयन बदर गरिएको पत्र पाएको बताए ।

यसअघि एक एक कार्यकाल अध्यक्ष भएका थिए दुबै जना
नेपाली कांग्रेस निकटका ओझा यसअघि पनि अस्पतालको अध्यक्ष थिए । ‘ओझा जी यसअघिका अध्यक्ष हुनुहुन्थ्यो, उहाँको तीन वर्षे कार्यकाल सकिएपछि प्रधानमन्त्री ज्यूले अध्यक्षमा मलाई मनोनयन गर्नु भएको हो । २६ बैशाखमा मन्त्रालयबाट पत्र बुझेर डडेल्धुरा आएको हुँ । तर एक हप्तामै निर्णय सदर र बदर भयो,’ सिंहले भने ।

त्यसो त ओझा जस्तै सिंह पनि एक कार्यकाल अस्पतालको अध्यक्ष भइसकेका व्यक्ति हुन् । माओवादी केन्द्रका सल्लाहकार टिममा समेत रहेका सिंह ओझा अध्यक्ष हुनु अघि सो अस्पतालको अध्यक्ष भएका थिए । ‘म ओझा भन्दा अघि डडेल्धुरा अस्पतालको अध्यक्ष भएको व्यक्ति हुँ । अहिले पनि अस्पताल सुधारका लागि योजना बनाउँदै थिएँ । मनोनयन नै बदर भयो भनेपछि अलमलमा परेको छु,’ उनले भने ।

उनले अबको कदम के गर्ने भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डसंग सल्लाह गरेर अघि बढ्ने बताए ।

उनले ओझा र आफू फरक राजनीतिक विचारको भएकोले मनोनयनमा गडबडी भएको समेत आरोप लगाए ।

‘पहिला त ओझा जी पनि हाम्रै पार्टीमा हुनुहुन्थ्यो, नेकपा एमालेसंग एकता गरेपछि र पछि पार्टी फुटेपछि उहाँ एमालेमै रहनु भयो । गत स्थानीय निर्वाचन पछि भने उहाँ कांग्रेसमा प्रवेश गर्नु भएको हो । अहिले सरकार त गठवन्धनको हो तर कांग्रेसको विभागीय मन्त्री हुनासाथ यसरी एक पक्षीय निर्णय गर्नु हुदैनथ्यो,’ सिंहले भने ।

यस विषयमा ओझाको प्रतिक्रिया लिने प्रयास भने सफल हुन सकेन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *