नेपालमा सहज उपलव्ध हुँदै पाठेघरको मुखको क्यान्सरबिरुद्धको ‘एचपीभी’ खोप
एचपीभी खोप कहिले दिने ? कसरी दिने ?
काठमाडौँ, ३० बैशाख । ‘पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस(एचपीभी) लाई मानिएको छ । जुन यौन क्रियाकलापको माध्यमबाट महिला वा पुरुषमा सर्दछ । एचपीभी भाइरसहरुको समूह हो । यो भाईरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ ।
यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ । एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशत भन्दा बढी क्यान्सर गराउँछ । त्यसैले बालिकाहरुको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु पर्दछ भनिएको हो,’शुक्रबार राजधानीमा आयोजित ‘सर्भाइकल क्यान्सर प्रिभेन्सन इन नेपाल : हाउ इम्पोर्टेन्ट इज एचपीभी भ्याक्सिनेसन ?’ विषयक सीएमई कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ अरुण शाहीले कार्यपत्र प्रस्तुत गर्ने क्रममा यसरी विषय उठान गरेका थिए ।
उनका अनुसार विश्वका कतिपय मुलुकहरुले आफ्नो नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरिसकेका छन् । यो खोप सुरक्षित, प्रभावकारी र अर्थिक रुपले उपयुक्त छ भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिसकेको छ । यसको नकारात्मक असर देखिएको छैन । यो खोपले एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्याउँछ ।
‘यति महत्वपूर्ण खोप भए पनि हामीकहाँ भने लगाउनको संख्या एकदमै कम छ । जनचेतनाको कमी, खोपको सहज उपलव्धता नहुँदा र अन्य कारणले हुन सक्छ अहिलेसम्म यसले अपेक्षाकृत गति लिएको छैन्,’ डा शाहीले थपे ।
उनले दीगोविकास लक्ष्य (एसडीजी) अनुसार सन् २०३० सम्ममा नसर्ने रोगहरुबाट हुने अकालमृत्यु (प्रिम्याचर डेथ) लाई प्रवर्धनात्मक र उपचारात्मक सेवाको माध्यमबाट एक तिहाईमा झार्ने लक्ष्य लिइएको समेत जानकारी दिए ।
‘सन् २०१५ मै नेपालले चितवन र कास्कीमा एचपीभी खोप पाइलटिङ गरेको थियो । तर आवश्यकता अनुसार खोपको उपलव्धता हुन नसक्दा सो कार्यक्रम बीचमै रोकिएको हो । अहिले पनि नेपालमा यो खोपको सहज उपलव्धता पनि त छैन्,’ सो कार्यक्रममा एक जना सहभागीले जिज्ञासा राखे । डा. शाहीले पनि चलाखीपूर्ण ढंगले पछिल्लो पटक एचपीभी खोप भित्र्याईरहेको नन्दकेम ड्रग डिस्ट्रीव्युटर्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ सन्देश सिग्देल तर्फ तेर्स्याए । सन्देशले तत्कालै प्रश्नको सम्वोधन गर्दै भने, ‘अब नेपालमा एचपीभी खोपको उपलव्धतामा समस्या हुनेछैन् । हामीले आवश्यकता अनुसार खोप जति पनि उपलव्ध गराउँन सक्छौँ ।’
नन्द केम ड्रग डिस्ट्रीव्युटर्सले चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको एचपीभी खोप सिकोलिन नेपालमा आयात गरिरहेको छ ।
‘हामीले केही महिना अघि देखि यो खोप ल्याउन थालेका हौँ । केही निजी अस्पतालमा यो खोप उपलव्ध छ, आउने महिनामा हामीले स्वास्थ्य सेवा विभागलाई पनि २० हजार भाइल खोप उपलव्ध गराउँदैछौँ । मागको आधारमा हामीले थप जति पनि खोप ल्याउन सक्छौँ,’ उनले भने ।
सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप डब्लुएचओले मान्यता प्रदान गरेको खोप हो । ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई दुई मात्रा र १५ वर्ष माथिकालाई तीन मात्रा दिन सकिन्छ । नेपालमा अहिले यसको मूल्य प्रति डोज ६ हजार २४० रुपैयाँ तोकिएको छ । उनले आफ्नो कम्पनीले आयात गरिरहेको एचपीभीको बारेमा बताए ।
त्यसअघि पाठेघरको मुखको क्यान्सरको रोकथाममा एचपीभी खोपको महत्व विषयक समूहगत छलफल भएको थियो । सो छलफल कार्यक्रममा बरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा शिला बर्मा, प्राडा प्रकाशनिधी तिवारी, प्राडा बिवेक आचार्य, प्राडा जनक कोइराला र डा पुप्पमणी खराल सहभागी थिए । उनीहरुले खोपको सहज उपलव्धता, सहज पहुँच, कस्ट इफेक्टिभ हुनु पर्नेमा जोड दिएका थिए । उनीहरुले यो खोपको महत्वको बारेमा आम अभिभावकलाई सचेत गराउनु पर्ने बताएका थिए ।
कार्यक्रममा बरिष्ठ स्त्री रोग विशेषज्ञ एवं सांसद प्राडा चन्दा कार्कीले खोपको आवश्यकता, महत्वको बारेमा बोलेकी थिईन् । उनले एचपीभी खोपलाई सरकारको नियमित खोपका राख्नका लागि आफूले पहल गर्ने समेत बताइन । उनले महिलालाई पाठेघरको मुखको क्यान्सर (सर्भाकल क्यान्सर) बाट जोगाउने पहिलो तरिका (प्राइमरी प्रिभेन्सन) भनेको एचपीभी विरुद्धको खोप नै हो । दोस्रो तरिका (सेकेन्डरी प्रिभेन्सन) भनेको क्यान्सर लाग्नु भन्दा पहिले नै महिलाको उमेर ३० देखि ६० बर्षसम्म प्रत्येक पाँच बर्षको एक पटक नियमित जाँच र उपचार गर्नु हो । तेस्रो तरिका रोगको निरुपण र उपचार गर्नु भएको बताईन् ।
कार्यक्रममा बरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा भोला रिजालले बढ्दो क्रममा रहेको पाठेघरको मुखको क्यान्सरलाई नियन्त्रण गर्न सकिने भन्दै यसका लागि सबैभन्दा महत्वपूर्ण एचपीभी खोप रहेको बताए । उनले राज्य, निजी क्षेत्र, गैर सरकारी संस्था सबैपक्ष मिलेर भएपनि यो खोपलाई सबै किशोरीको पहुँचमा पुरयाउनु पर्ने बताए । उनले खोपको विषयमा आम अभिभावकलाई पनि जानकारी गराउनु पर्ने बताए ।
सम्पर्क इमेल : [email protected]