नक्कली कागजात मिलाई नागरिकता लिएको आरोपमा पक्राउ परेका १० मध्ये एक जना डाक्टर
काठमाडौँ, २८ बैशाख । नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका १० जना भारतीयमध्ये एक जना डाक्टर समेत रहेको खुलेको छ ।
गत शनिबार काठमाडौँको शंखमुल, कलंकी, बागबजार, गंगबु, बानेश्वर क्षेत्रबाट प्रक्राउ परेका १० जना मध्येका एक ३० बर्षीय राहुल गुप्ता एमबीबीएस डाक्टर हुन् । उनले काठमाडौँ विश्वविद्यालयबाट एमबीबीएस उत्तीर्ण गरेका हुन् ।
प्रहरीका अनुसार उनले मिर्चैया सिराहाबाट बंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए । तर प्रहरी अनुसन्धानबाट अंगिकृत नागरिकता लिएका बाबु भरतप्रसाद गुप्ताको नागरिकता नक्कली ठहर भएपछि डा राहुलको नागरिकता समेत विवादमा परेको हो ।
प्रहरीले नक्कली कागजात तयार पारी नागरिकता लिएको आरोपमा गुप्ता बाबु छोरा सहित ५० वर्षीय ज्ञानमति देवी गुप्ता, ३९ वर्षीय गोपाल गुप्ता, ४४ वर्षीय रामसुन्दर गुप्ता, ४३ वर्षीय रामप्रवेश गुप्ता, ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेह लता गुप्ता, ४९ वर्षीया मीनादेवी गुप्ता र ५२ वर्षीय राजेश कुमार गुप्तालाई पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ पनेहरु भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पञ्चायत भिमपूरा थाना बेल्थरा रोड स्थायी घर भएकाहरु भएको दावी गरेको छ ।
नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न स्थानमा घर(जग्गा खरिद गरी व्यापार व्यवसायसमेत गरी बसेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूमाथि अनुसन्धान गरिएको र झुट्टा विवरण पेस गरेर सक्कलै नेपाली नागरिकता लिएको भेटिएको प्रहरीले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]