स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत नियुक्त
काठमाडौँ, २० बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बस्नेतलाई बुधबार स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् ।
बुधबार नै राष्ट्रपतिले कानून न्याय तथा संसदीय मामिलामा धनराज गुरुङ र युवा तथा खेलकुदमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका छन् ।
स्वास्थ्य मन्त्रीमा नियुक्त, बस्नेत गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसमा देउवा निकट नेता मानिन्छन् ।
यसअघि स्वास्थ्य मन्त्री रहेका पदम गिरीले राजिनामा दिएपछि ६५ दिन भन्दा बढी समय देखि स्वास्थ्य मन्त्रालय मन्त्रिविहीन थियो । सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका थिए ।
गत ३ माघमा स्वास्थ्य मन्त्री बनेका पदम गिरी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेपछि गत १५ फागुनमा राजिनामा दिदै बाहिरिएका थिए । त्यसयता स्वास्थ्य मन्त्रालय मन्त्री विहीन थियो ।
सम्पर्क इमेल : [email protected]