१ जेठ देखि बढ्ने भयो डाक्टरहरुको ओपिडी शुल्क, प्रति टिकटमा बढ्यो ५० देखि ११५ रुपैयाँसम्म
निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुको मासिक तलव भने बढेन

काठमाडौँ, १९ बैशाख । आगामी १ जेठ देखि बिरामीहरुले डाक्टरलाई तिर्नुपर्ने ओपिडी शुल्क बढ्ने भएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल(अफिन)ले संयुक्त विज्ञप्ती जारी गर्दै १ जेठ देखि डाक्टरहरुले ओपिडी जाँचमा लिईदै आएको परामर्श शुल्क बढ्ने जानकारी दिएको छ । उसले शुल्क बढाउन मन्त्रालयको सहमति भएको समेत दावी गरेको छ ।
दुई दुई वर्षमा परामर्श शुल्क पुनरावलोकन गर्न मिल्ने व्यवस्था अनुरुप शुल्क बढाइएको भनिएको छ । विज्ञप्तीमा शुल्क बढाउँदा राष्ट्र बैंकको मुद्रा स्फिति दरलाई ध्यान दिइएको भनिएको छ । बढेको शुल्कमा कम्तिमा ५० रुपैयाँमा देखि बढीमा १५० रुपैयाँ रहेको छ ।
शुल्क बढ्दा अब एमबीबीएस बीडीएसको डाक्टर जसको अनुभव पाँच बर्ष भन्दा कम छ उसले ४२० रुपैयाँ लिन पाउँछ । यसअघि यस्तो डाक्टरको शुल्क ३७० रुपैयाँ तोकिएको थियो । पाँच वर्ष बढी अनुभव भएका एमबीबीएस तथा बीडीएस डाक्टरले ५१५ रुपैयाँ लिन पाउँछ । उसको यसअघि ४५० रुपैयाँ शुल्क तोकिएका थियो ।
यस्तै अब डिप्लोमा लेभलको चिकित्सकले पाँच वर्ष मुनिको अनुभव छ भने ५९० रुपैयाँ र त्यो भन्दा बढी छ भने ६७० रुपैयाँ लिन पाउँछ । यसअघि यो लेभलको चिकित्सकको पाँच वर्ष कम अनुभव भएकोले ५१५ रुपैयाँ र पाँच वर्ष बढी अनुभव भएकाको ५९० रुपैयाँ तोकिएको थियो ।
यस्तै एमडीएमएस एमडीएस लेभलका चिकित्सकले पाँच वर्ष मुनि अनुभव भएपनि ७५० रुपैयाँ ओपिडी शुल्क लिन पाउनेछन् । पाँच वर्ष बढी अनुभव भएमा सो लेभलको चिकित्सकले ८०० रुपेयाँसम्म शुल्क लिन सक्नेछन् । दुई बर्ष अघि भने यो लेभलको चिकित्सकको शुल्क पाँच वर्ष भन्दा कम अनुभव भएकाको ६६० रुपैयाँ र त्यसभन्दा बढी अनुभव भएमा ७०० रुपैयाँ थियो ।
यस्तै डीएम एमसीएच तहका चिकित्सक जसको अनुभव पाँच वर्ष भन्दा कम छ उनीहरुको शुल्क ८८० रुपैयाँ हुने भएको छ । यसअघि उनीहरुको शुल्क ७७० रुपैयाँ थियो ।
पाँचवर्ष माथिकाले ९४० रुपैयाँ लिन सक्ने छन् । यसअघि यो तहका चिकित्सकले ८२५ रुपैयाँ लिन पाउँथे ।
नेपाल चिकित्सक संघका महासचिव डा सञ्जीव तिवारीले बढ्दो महंगी र दूई दुई बर्षमा शुल्कमा पुनरावलोकन गर्न मिल्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको बताए ।
‘फागुनमै शुल्क पुनरावलोकन हुनु पर्ने हो तर हाम्रो चुनाव, पदवहाली लगायतका विभिन्न व्यस्तताले त्यसबेला सकिएन । दुई तीन महिना ढिलाई भएपनि यसलाई अब कार्यान्वयनमा ल्याउँदैछौँ,’ डा तिवारीले भने ।
निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुको भने तलव बढेन
चिकित्सकहरुले परामर्श शुल्क बढाउने निर्णय गरे पनि निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरको न्युनतम तलव भने बढाएका छैनन् । उनीहरुको २०७७ फागुन ४ गते पनि ४२ हजार रुपैयाँ तलव तोकिएको थियो भने २०८० जेठ १ गते देखि बढ्ने भनिएको निर्णयमा पनि ४२ हजार रुपैयाँ नै तोकिएको छ ।
यस्तै स्तरीय नर्सिङ होम तथा अस्पतालहरुले बढीमा २० प्रतिशत सर्भिस चार्ज भनेर थप शुल्क लिन पाउने व्यवस्था कायम गरिएको छ ।
१ जेठ देखि लागू हुने गरी बढाइएको ओपिडी शुल्क बारेको विज्ञप्ती :

दुई वर्ष अघि यसरी बढाइएको थियो शुल्क:



सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

