संसारलाई स्वास्थ्य सेवा बेच्ने बाटोमा अघि बढ्दै भारत

196
Shares

काठमाडौँ, १८ बैशाख । गत २६ देखि २८ अप्रिलसम्म भारतको राजधानी नयाँ दिल्लीको प्रगति मैदानको कन्फरेन्स हलमा स्वास्थ्य सम्वन्धी बृहत सम्मेलनको आयोजना भएको थियो ।

‘एडभान्टेज हेल्थ केयर इन्डिया -२०२३’ नाम दिईएको सो सम्मेलनमा ७३ देशका ५०० बढी विदेशी सहभागी थिए । जसमा १२ देशका त स्वास्थ्य मन्त्री उपस्थित थिए ।

कार्यक्रमको मुख्य आयोजक ‘फेडरेसन अफ इन्डियन च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (फिक्की)’ थियो । सहयोगीको भूमिकामा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय देखिन्थ्यो । एडभान्टेज हेल्थ केयर इन्डिया २०२३ छैटौँ संस्करण हो ।

सो कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री नरेन्द्र मोदी नै आउने तालिका थियो । तर अन्तिम समयमा आफू भौतिक उपस्थिति हुन नसक्ने भन्दै उनले भिडियो सन्देश पठाए ।

प्रधानमन्त्री नआएपछि आयोजकले केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डा मनसुख मण्डाविया प्रमुख अतिथि बनायो । औपचारिक उद्घाटन समारोहमा स्वास्थ्य मन्त्री डा मण्डावियासंगै सिक्किमका मुख्य मन्त्री प्रेमसिंह तामाङ, त्रिपुराका मुख्यमन्त्री डा मनिक शाह, नीति आयोगका सदस्य डा भिके पल, एपोलो अस्पताल भारतका एमडी डा संगिता रेड्डी लगायतले कार्यक्रमको महत्व, उदेश्य र योजनाको बारेमा बताएका थिए ।

‘वान अर्थ – वान हेल्थ’को ‘थिम’मा चलेको यो कार्यक्रम प्रधानमन्त्री मोदीले सुरुमै भनेका थिए, ‘भारतको मुल मन्त्र ‘बसुधैव कुटुम्बकम’ हो । जसको अर्थ हो, ‘विश्व एक परिवार हो अर्थात पृथ्वीमा रहेका सबै जिवित प्राणीहरु एक परिवारका सदस्य हुन् ।’

उनले अगाडी थपे, ‘भारत अब आफ्नो नागरिकको उपचारमा मात्रै सन्तोष मानेर बस्न सक्दैन् । भारत अब संसार भरका नागरिकको उपचार गर्ने योजनामा अघि बढेको छ । पृथ्वी लोकका सबै मानिसहरुलाई गुणस्तरीय र सर्वसुलभ रुपमा स्वास्थ्य उपलव्ध गराउनु हाम्रो दायित्व हो ।’

उनले जी २० सम्मेलनको अध्यक्षता गरिरहेको भारतको थिम पनि वान अर्थ, वान फेमली, वान फ्युचर रहेको सुनाएका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा सहभागी भएका स्वास्थ्य मन्त्री, मुख्य मन्त्री र नीति आयोगका सदस्यहरुले प्रधानमन्त्री मोदीकै भनाईलाई थप व्याख्या गर्दै भारत सरकारको स्वास्थ्य नीति र मेडिकल टुरिजमका लागि भारतले चालेको कदमबारे बताएका थिए ।

कस्तो मेडिकल टुरिजम ?
नेपालमा पनि बेला बखतमा मेडिकल टुरिजमको कुरा उठ्ने गरेको छ । केही स्वास्थ्य उपचारका लागि दोस्रो वा तेस्रो मुलुकबाट विदेशी नागरिकहरु पनि फाट्टफुट्ट रुपमा आउने गरेको सुनिन्छ । तर भारतको अवस्था भने निकै फरक छ । उसले यसपटक गरेको छैटौँ संस्करणमा नै केही करोड लगानी गरी अर्बौ रकम भित्र्यायो । वा भित्र्याउने सुनिश्चित गरयो ।

सम्मेलनमा अफ्रिकी मुलुक, एशिया, युरोप, उत्तर दक्षिण अमेरिका, अष्ट्रेलिया आदी सबै महादेशका विकसित देखि विकासोन्मुख देशका प्रतिनिधिहरु सहभागी थिए ।

सम्मेलनकै दौरानमा उसले विभिन्न देशका अस्पतालहरु र सरकारका प्रतिनिधिसंग बसेर उपचार सम्झौँता, औषधि उपकरण खरीद विक्रीका सम्झौँता समेत गरेको छ ।

सम्मेलनमा दिइएको भिडियो सन्देशमा प्रधानमन्त्री मोदीले मेडिकल भिसाका बारेमा पटक पटक बोलेका थिए । भारतले अहिले १६६ देशका लागि मेडिकल भिषा उपलव्ध गराएको बताएको छ । यो संख्या आवश्यकता अनुसार बढाउँदै जाने बताएको छ ।

संसारकै स्वास्थ्य उपचारको जिम्मा लिदै गर्दा सोही तयारीमा दक्ष जनशक्ति औषधि र उपकरण व्यवस्था गर्नु पर्ने हुन्छ । हाम्रा जनशक्ति संसारकै सबैभन्दा दक्ष छन् । सबैभन्दा धेरै छन् । अस्पताल र त्यसमा प्रयोग हुने उपकरणहरु अत्याधुनिक र लेटेष्ट भर्जनका छन् । मोदिले सुनाएका थिए ।

भारत उपचार मात्रै होइन, औषधि उत्पादन र निर्यात गर्ने देशहरुको सूचीमा पनि अगाडी आईसकेको छ । सबैभन्दा ठूलो खोप उत्पादन गर्ने कम्पनी देखि धेरै औषधि उत्पादन गर्ने उद्योग भएको भारतले कोभिडको समयमा उत्पादन गरेका खोप र विश्वभरका देशहरुमा गरेको सप्लाईले आफूलाई प्रमाणित गर्न सफल भएको मोदीको दावि थियो ।

हुन पनि मोदीको दावी जस्तै भारतमा अहिले अस्पताल मात्रै होइन यसको उपचारलाई बाहिरबाट बिरामी भित्र्याउन मेडिकल ट्राभलर सर्भिसेज, हेल्थ केयर प्रोभाइडर कम्पनीहरु सञ्चालनमा आएका छन् । उनीहरुले बिरामीको रिपोर्टको आधारमा उपचारका लागि उपयुक्त अस्पताल, उपयुक्त डाक्टर, मेडिकल भिषा, यात्रा व्यवस्था सबैको चाँजोपाँजो मिलाइदिने गर्दा रहेछन् ।

सम्मेलनमा सहभागीलाई बीटूबी मिटिङ अनिवार्य
सम्मेलनमा ५०० बढी विदेशी प्रतिनिधिहरुलाई दुई दिनमा कम्तीमा ४० वटा बीजनेस टू बीजनेस (बी टू बी) मिटिङमा सहभागी हुने बातावरण गराइएको थियो । एलोपेथिक तथा आयुर्वेदिक अस्पताल, उपचारका लागि चाहिने औषधि तथा उपकरण उत्पादन तथा विक्री गर्ने कम्पनीका प्रतिनिधिसंग बी टू बी मिटिङ राखिएको थियो । त्यसभन्दा बढी मेडिकल ट्राभल एजेन्सीहरु थिए ।

सार्क, मध्यपूर्व, अफ्रिका, युरोप, अमेरिका लगायतका देशका प्रतिनिधिहरुलाई भारतमा दिईदै आएको स्वास्थ्य सेवाको गुणस्तर, सहजता, सुलभता र उपचारका लागि पाईने मेडिकल भिषाका बारेमा जानकारी दिएका लिभोन्ता ग्लोबल हेल्थकेयर म्यानेजर धिरु दिभरानियाले जुन सुकै अस्पताल र त्यहाँका डाक्टरसंग कसरी भेट गर्ने र उपचार सुविधा उपलव्ध गराउने बारेमा बताएका थिए ।

यस्तै अपोलो चेन्नईका डेपुटी जनरल म्यानेजर जीतेन्द्र ठाकुरले देशभर रहेका आफ्नो अस्पतालको शाखामा विदेशी विरामीले कसरी उपचार सुविधा पाउन सक्छन् । के के सुविधाहरु उपलव्ध छन् भनेर बताइरहेका थिए ।

म्याक्स हेल्थकेयर इन्डियाका इन्टरनेशनल बीजनेशका प्रमुख सचिन गुप्ताले विदेशी प्रतिनिधिलाई भारतमा विदेशी बिरामीका लागि किन महत्वपूर्ण छ भनेर प्रष्ट्याएका थिए ।

सरकार र निजी क्षेत्र संगसंगै
हुन त नेपालमा पनि सरकारी र निजी क्षेत्रले उपचार सेवा उपलव्ध गराउँदै आएका छन् । निजी स्वास्थ्य संस्थाहरुको दावीलाई मान्ने हो भने ७० प्रतिशत बिरामीको उपचार निजीक्षेत्रले धानेको छ । तर पनि यहाँ सरकारी तवरबाट निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा केही भिन्न जस्तो देखिन्छ ।

खासगरी निजी अस्पतालहरु जनतालाई बढी ठगी गर्छन् । सेवा भन्दा बढी व्यापार र नाफामा रमाउँछन् भन्ने मानक तयार गरिएको छ । तर भारतमा त्यस्तो देखिएन ।सरकार आफै निजी अस्पताल, औषधि उद्योग, हेल्थ केयर प्रोभाइडरलाई सकेसम्म सहुलियत दिन र देशमा अर्थतन्त्र भित्र्याउनका लागि सहयोगी बनेको पाइयो ।

‘अस्पताल खोल्न होस या औषधि उद्योग खोल्नका लागि होस, राज्यले अनेकन सुविधा सहुलियत दिएको हुन्छ । यसले निजी क्षेत्रले दिल खोलेर आफ्ना सेवालाई अभिबृद्धि गरेका हुन्छन् । हामी पब्लिक प्राइभेट पार्टनरसिपमा विश्वास पनि गर्दछौँ,’ नीति आयोगका सदस्य डा भिके पल भन्छन् ।

सम्मेलनमा नेपालबाट केही निजी अस्पतालका सञ्चालक, चिकित्सक, हेल्थ केयर प्रोभाइडरको समेत सहभागिता थियो । उनीहरु भन्दथे, ‘स्वास्थ्य क्षेत्रमा भारत सरकारले चालेको कदम, मेडिकल टुरिजमको लागि लिएको नीति र विदेशी प्रतिनिधिहरुको सहभागिताले प्रधानमन्त्री मोदीको भाषणमा भनिए जस्तै भारत अब आफ्ना मात्रै होइन संसारभरका नागरिकको उपचारको जिम्मा लिन तयार छ भन्ने धारणालाई पुष्टि गर्न थप बल पुग्ने देखिन्छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *