शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक वर्षमा गर्यो २०६ जनाको मिर्गौला प्रत्यारोपण
काठमाडौँ, ११ बैशाख । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो एक वर्षको अवधीमा २०६ जनाको प्रत्यारोपण गरेको छ । यो संख्या केन्द्र सञ्चालनमा आए देखि एक वर्षमा गरेको सबैभन्दा बढी प्रत्यारोपण हो ।
केन्द्रमा अहिलेसम्म १ हजार ४५ जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।
सोमबार केन्द्रको एघारौँ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले कोभिड १९ को संक्रमण सुस्ताएसंगै प्रत्यारोपणले तिव्रता पाएको बताए ।
उनले यहि अवधीमा मस्तिष्क मृत्युपछिको अंगदानबाट ४ जनाको मिर्गौला र २ जनामा कलेजो प्रत्यारोपण भएको बताए । केन्द्रले पछिल्लो एक वर्षमा २७ हजार ८६७ सेसन हेमोडाइलासिस, २ लाख ३७ हजार ५५५ जनाको ल्याव टेष्ट, ८२२ जनाको जटिल शल्यक्रिया, ९९१ जनाको साधारण शल्यक्रिया भएको बताए ।
यसैगरी पछिल्लो एक वर्षमा ५४ हजार ८३६ जनाले ओपिडी, १ हजार ९१६ जनाले सिटिस्क्यान सेवा र १५९ जनाले क्याथ ल्याव सेवा लिएको समेत सुनाए । उनले यसबर्ष अंगदान र प्रत्यारोपण सम्वन्धी ्र १०० भन्दा बढी विभिन्न कार्यक्रम र क्रियाकलापहरु गरेको जानकारी दिए ।
कार्यक्रममा केन्द्रका पूर्व अध्यक्ष एवं स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलले छोटो अवधीमा केन्द्रले उच्चस्तरको सेवा दिन सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले केन्द्रको स्थापना आफ्नो पालामा भएको भन्दै यसको श्रीबृद्धिका लागि आफ्ना तर्फबाट निरन्तर सहयोग उपलव्ध हुने बताए ।
अस्पताल विकास समितिका सदस्य प्रेमप्रकाश उप्रेतीले केन्द्रलाई यो तहसम्म ल्याउन चिकित्सक नर्स तथा कर्मचारी सहित सबैको उत्तिकै योगदान रहेको भन्दै आगामी दिनमा पनि यसैगरी सफलता पाउनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा मिर्गौला पिडीत समाजका अध्यक्ष झमक श्रेष्ठ र मिर्गौला सरोकार समाजका अध्यक्ष बलराम सुवेदीले केन्द्रले मिर्गौला उपचारमा पुरयाएको योगदानको चर्चा गर्दै धन्यवाद दिए ।
बार्षिक उत्सव समाहरोहमा केन्द्रले यसबर्षको उत्कृष्ट सेवा पुरस्कारस्टाफ नर्स कमला शर्मालाई प्रदान गरेको छ ।
प्रत्यारोपण प्रतिष्ठान निर्माण गर्ने
यसैबीच कार्यक्रममा केन्द्रका निर्देशक डा श्रेष्ठले प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठानको रुपमा विकास गर्ने योजनामा लागिएको बताए ।
उनले केन्द्रले प्रत्यारोपण सेवालाई समेत सातै प्रदेशमा विस्तार गर्ने योजनाका साथ अघि बढेको र गण्डकी र कर्णाली प्रदेशमा कार्य सञ्चालनमा आएको समेत बताए ।
उनले केन्द्रको क्षमता विस्तार गरी ५०० शैयाको अत्याधुनिक सुविधा सम्पन्न केन्द्र बनाउने योजना रहेको समेत सुनाए ।
सम्पर्क इमेल : [email protected]