किन लगियो राष्ट्रपति पौडेललाई भारत ?

भारतमा कसरी भइरहेको छ राष्ट्रपति पौडेलको उपचार ?

काठमाडौँ, ७ बैशाख । स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (त्रिवि शिक्षण अस्पताल)मा गत मंगलबार भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई हिजो (बुधबार) थप उपचारका स्वास्थ्य उपचारका लागि भारतको दिल्ली लगिएको छ । त्यहाँ उनको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स अस्पताल) मा उपचार भइरहेको छ ।

उपचारका लागि उनीसंग श्रीमती, छोरा, निजी चिकित्सक डा निरज बम र तीन जना सुरक्षाकर्मी दिल्ली गएका छन् ।

एम्स अस्पतालले उनको राष्ट्रपति पौडेलको उपचारका लागि मेडिकल बोर्ड गठन गरेको छ । सोही टिमले भीभीआईपी प्रोटोकल अनुसार नै उपचार गरिरहेको बताइएको छ । दिल्लीमा रहेका निजी चिकित्सक डा बमका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार भइरहेको छ ।

खासमा किन लगियो दिल्ली ?
छातीमा सामान्य संक्रमण देखिएपछि राष्ट्रपति पौडेललाई गत १८ देखि २२ चैतसम्म त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेरै राखिएको थियो । संक्रमणले फोक्सोमा थोरै पानी जमेको देखिएको थियो । त्यसबेला सुईबाट एक साता र ओरल एक साता गरी करीव दुई साता एन्टीबायोटिक समेत चलाइएको थियो । तर गत सोमबार भिडियो एक्सरे गर्दा समेत सो पानी यथावत रहेको पाइयो ।

चिकित्सकहरुले त्यसपछि पानी झिकेर परीक्षणका लागि पठाए । रिपोर्ट नर्मल नै आएको छ । तर परिवार र सरकारका प्रतिनिधिहरुले संक्रमणको लक्षण लामो समय रहेकोले एक पटक विस्तृत जाँच गर्ने सल्लाह अनुसार एम्स लगिएको हो ।

‘एयर एम्बुलेन्समा भारत लगियो भन्दा धेरै सोच्न सकिएला, तर त्यस्तो होइन, हेड अफ दि स्टेट र विरामी तथा उहाँको परिवारको अधिकार समेत भएकोले थप परीक्षणका लागि यहाँ ल्याएको मात्रै हो,’ दिल्लीबाट डा बमले भने ।

‘केही संक्रमण देखियो र अलि लामो समय रहयो जस्तो भयो । पाको उमेरको मान्छे , राष्ट्रप्रमुख पनि त्यसैले पनि एक पटक दिल्ली लैजाउँ न भन्ने सल्लाह भयो । त्यसैले आएको हो । उहाँ नियमित उडानबाटै आउन खोज्नु भएको हो तर सेकुरिटी प्रोटोकलले अलि नमिल्ने भन्ने कुरा आयो र छुट्टै जहाजको व्यवस्था गरिएको हो,’ डा बमले भने ।

राष्ट्रपति पौडेलको चौविस घण्टा अव्जरभेसनमा राखिने अस्पतालको प्रोटोकल भएको र यसबीचमा सबै आवश्यक जाँच गरिने भएकोले अहिले सोही अनुसार परीक्षणका कामहरु भइरहेको बताए । प्रारम्भिक रिपोर्टहरुले अवस्था सन्तोषजनक रहेको पाइएको समेत बताए ।

राष्ट्रपति पौडेल हेर्दा पनि ठिक छन् । ‘हिजो बेलुका रोटी, दाल भात तरकारी सामान्य रुपमा खानु भयो । अहिले नर्मलनै हुनुहुन्छ,’ डा बमले सुनाए ।

एम्समा किन लगियो ?
राष्ट्रपति पौडेल एम्सका पुराना बिरामी हुन् । उनले करीव १२ वर्ष अघि प्रोस्टेटको उपचार एम्समै गएर गराएका थिए । त्यसपछि उनी बेला बेलामा फलोअपमा पनि सोही अस्पताल जाने गरेका थिए । पछिल्लो पटक कोभिड महामारीको लकडाउन हुनु अघि उनले एम्समा गएर आफ्नो स्वास्थ्य जाँच तथा खाएका औषधिको फलोअप गरेका थिए ।

एम्स केन्द्रीय सरकार र दिल्ली सरकारको सहयोगमा चलेको अस्पताल हो । यहाँ उपचार प्राय निशुल्क हुन्छ । टिकट काटदा समेत पैसा लाग्दैन् । ‘उत्कृष्ठ उपचार हुने भारतको अस्पतालहरुमा अग्रस्थानमा पर्दछ । त्यसैले पनि यो अस्पताल रोजेको हो,’ डा बमले भने ।

समाचार हेरिरहन्छन् राष्ट्रपति पौडेल

बिरामी भए पनि राष्ट्रपति पौडेलले समाचारमा अति चासो लिने गर्दछन् । अस्पतालमा रहँदा पनि उनले आफ्नो स्वास्थ्यका बारेमा लेखिएका समाचार, देशका राजनीतिक समसामयिक विषयका समाचारहरु पढ्दै बसिरहेका हुन्छन् । कतिपय मिडियामा आफ्नो स्वास्थ्यका विषयमा गलत समाचार आउँदा उनी निरास समेत भएका थिए । डा बमले स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा समाचार लेख्दा कम्तिमा उपचारमा सम्लग्न चिकित्सकसंग बुझेर लेखिदिन समेत आग्रह गरे । ‘गलत समाचारले बिरामीको मानसिकतामा कति असर गर्छ भन्ने कुराको ख्याल गरौँ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *