नेपाल प्रहरी अस्पतालको एमआरआई मेसिन दुई वर्ष देखि बन्द

काठमाडौँ, ५ बैशाख । नेपाल प्रहरी अस्पतालले विस. २०७२ सालमा खरीद गरेको इचेन टेस्ला १.५ एमआरआई मेसिन विगत दुई वर्ष देखि बन्द भएको छ । अस्पतालले मेसिनको मर्मत सम्भार गर्न नसक्दा विसं २०७७ पुस देखि मेसिन बन्द भएको हो ।

मेसिन बन्द हुँदा सरकारी अस्पतालमा सेवा लिन आउने बिरामीहरु बाहिर गएर महंगोमा एमआरआई गराउन पर्ने बाध्यतामा परेका छन् ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ प्रतिवेदनमा अस्पतालको एमआरआई मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन पर्छ भनी गत वर्ष नै औल्याए पनि स्थिति हालसम्म यथावत रहेको उल्लेख गरेको छ ।

करोडौँ रुपैयाँ खर्च गरि ल्याइएको केही वर्षमै बिग्रने र मेसिनको सामान्य मर्मत नगरी थन्क्याउने सरकारी प्रचलन प्रहरी अस्पतालमा पनि देखिएको छ ।

प्रतिवेदनमा यो वर्ष अस्पतालको पूजीगत बजेटतर्फ ७३ करोड ९६ लाख ५६ हजार खर्च भएको उल्लेख छ । चालु खर्च तर्फ पारिश्रमिकमा २७ करोड ४८ लाख २३ हजार, औषधि खरीदमा १० करोड९ लाख, पूजीगत तर्फ भवन निर्माणमा १३ करोड ३९ लाख ८० हजार, मेसिनरी तथा औजार खरीदमा ७ करोड १ लाख ७२ हजार र अन्यमा रु १५करोड ९७ लाख ८१ हजार खर्च भएको उल्लेख छ ।

अस्पतालले आम्दानी तर्फ यो वर्ष सर्वसाधारणको उपचार व्यवस्थापनबाट १ करोड १७ लाख ६० हजार, बिपन्न नागरिक उपचार व्यवस्थापनबाट ७३ लाख ७ हजार, कल्याणकारी कोषबाट अनुदान रु २ करोड, एनेस्थेसियाबा तथा अन्य परीक्षण शुल्कबाट ३ करोड ८४ लाख ८८ हजार, नयाँ उम्मेद्धार स्वास्थ्य परीक्षणबाट ४६ लाख ९६ हजार समेत गरी कुल ८ करोड २२ लाख ५१ हजार आम्दानी गरेको उल्लेख छ ।

महालेखाले अस्पतालको दिगोपना र सेवा विस्तारको लागि सबै प्रकारका आन्तरिक स्रोतको आयमा बृद्धि गरी खर्च नियन्त्रण गर्न सुझाव समेत दिएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *