राष्ट्रपति पौडेलको छातीको संक्रमण अझै हटेन, फोक्सोबाट पानी झिकेर परीक्षणका लागि पठाइयो
काठमाडौँ, ५ बैशाख । दुई साता अघि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका राष्ट्रपति रामचन्द्र पौडेलको छातीको संक्रमण अझै हटेको छैन् ।
सोमबार फलोअपमा त्रिवि शिक्षण अस्पतालमा गएका पौडेलको चिकित्सकहरुले फोक्सो बाहिरको झिल्लीमा जम्मा भएको पानी झिकेर थप परीक्षणका लागि पठाएका छन् ।
छाती र देब्रे कोखो दुख्ने समस्या भएपछि गत १८ चैतमा राष्ट्पति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । पाँच दिन अस्पतालको उपचार पछि उनी २२ चैतमा डिस्चार्ज भएका थिए । त्यसपछि पनि उनलाई एन्टीबायोटिकको दिएर पठाइएको थियो ।
राष्ट्रपतिका निजी चिकित्सक एवं वरिष्ठ छातीरोग विशेषज्ञ डा निरज बमले सोमबार भिडियो एक्सरे गर्दा फोक्सोको बाहिरी झिल्लीमा थोरै पानी जमेको देखिएपछि त्यसलाई झिकेर परीक्षणका लागि पठाएको बताए ।
‘ओरल एन्टीबायोटिक पनि पुरा भयो । पानी सुक्न पर्ने हो । तर थोरै देखियो । हामीले यस्तो अवस्था आउने हरेक विरामीको पानी झिकेर परीक्षणका लागि पठाउँछौँ । राष्ट्रपति ज्यू को पनि त्यहि नै गरिएको हो,’ उनले भने ।
डा बमले हलुका पानी देखिदा इन्फेक्सन पूर्ण नियन्त्रणमा रहेको भन्न नसकिए पनि अवस्था सामान्य रहेको बताए ।
‘उहाँलाई अहिले कुनै गाह्रो छैन् । खानपिनमा समेत कुनै अफ्टेरो छैन् तर थोरै पानी देखियो । त्यसको एनालाइसिस त गर्नु परयो भन्ने हाम्रो टिमको छलफल भयो र पानी थुतेर परीक्षणका लागि पठाएका हौँ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]