डब्लुएचओद्धारा इलेक्ट्रोनिक मेडिकल रेकर्ड संक्रामक तथा सरुवा रोग अस्पताल पोखरालाई हस्तान्तरण

पोखरा, २९ चैत । विश्व स्वास्थ्य संगठनले आफ्नो सहयोगमा स्थापित र सञ्चालित इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) संक्रामक तथा सरुवा रोग अस्पताल पोखरालाई हस्तान्तरण गरेको छ ।

बुधबार पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले इएमआरको उद्घाटन गरेका थिए । त्यस लगत्तै विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजी राव पाण्डेले अस्पतालका अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेललाई इएमआर हस्तान्तरण गरे ।

उदघाटन तथा हस्तान्तरण समारोहमा बोल्दै मुख्य मन्त्री अधिकारीले गण्डकी प्रदेशमा पहिलो पटक सुरु गरिएको एकीकृत इएमआर प्रणालीले यहाँका समुदायमा ठूलो सहयोग पुग्ने बताए ।

कार्यक्रममा प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले अस्पतालबाट सुरु गरिएको डिजिटल सेवाले अव बिरामीको रेकर्ड मात्र नभएर उनीहरुको नियमित स्वास्थ्य उपचार सेवालाई समेत सशक्त बनाउने बताए ।

उक्त अवसरमा बोल्दै डब्लुएचओका नेपाल प्रतिनिधि डा पाण्डवले नमूना कार्यक्रमको रुपमा सुरु गरिएको यो प्रणालीले मानिसको स्वास्थ्यको विषयमा जानकारी राख्न सजिलो मात्र नभएर उनीहरुको उपचार प्रणालीलाई छिटो र सहज बनाउन सहयोग पुग्ने उल्लेख गरे ।

कार्यक्रममा संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनले इएमआर गुणस्तरीय आधुनिक चिकित्सा सेवाको आधारस्तम्भ रहेको उल्लेख गरे । उनले यो प्रविधिलाई सहज सञ्चालन गर्नको लागि आजैबाट दुई दिने तालीम समेत सुरु गरेको बताए ।

अस्पतालमा सञ्चालित इएमआर प्रणालीमा अहिलेसम्म तीन हजार भन्दा धेरै बिरामीहरुको डिजिटल फाइल बनिसकेको जानकारी समेत डा गौचनले दिए ।
करीव ४० लाख रुपैयाँ लागतमा स्थापित सो इएमआर परियोजना सम्पन्न गर्न डब्लुएचओ नेपालले आर्थिक तथा प्राविधिक सहयोग उपलव्ध गराएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *