स्वास्थ्य कार्यालय काठमाडौँ र ललितपुरका प्रमुख फेरिए

काठमाडौँ, २७ चैत । बागमती प्रदेश सरकारले स्वास्थ्य कार्यालय काठमाडौँ र ललितपुरको प्रमुख परिवर्तन गरेको छ । यसैगरी बागमती प्रदेश आपूर्ति केन्द्रको निर्देशक समेत परिवर्तन गरिएको छ ।
बागमतीका स्वास्थ्य सचिव बद्रीबहादुर खड्काका अनुसार स्वास्थ्य कार्यालय काठमाडौँमा बरिष्ठ जनस्वास्थ्य प्रशासक सागर घिमिरे (दशौँं तह) लाई ल्याइएको छ । स्वास्थ्य कार्यालय धादिङमा कामकाज गर्दै आएका घिमिरेको काज फिर्ता गरिएको हो ।
यस्तै स्वास्थ्य कार्यालय ललितपुरको प्रमुखमा डा अर्जुन प्रसाद सापकोटालाई ल्याइएको छ । उनी प्रदेश आपूर्ति केन्द्र हेटौडामा कामकाज गर्दै आएका थिए । उनको पनि काज फिर्ता गरिएको हो । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख रहेका सतिश विष्ट पनि काज फिर्ता भएपछि प्रदेश स्वास्थ्य निर्देशनालय फिर्ता गएका छन् ।
यता प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडामा स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख रहेका बसन्त अधिकारीलाई पठाइएको छ । गत १५ चैतको प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा पठाउने निर्णय गरेको हो ।
सम्पर्क इमेल : [email protected]