‘सिंहदरबारको फोहर नउठाइनुमा स्वास्थ्य मन्त्रालयसंग पनि जोडिएको छ चार मुद्धा’
काठमाडौँ, २७ चैत । गर्नै पर्ने र सहजै गर्न मिल्ने जायज विषयलाई संघीय सरकारले बेवास्ता गरेपछि सिंहदरबारको फोहर उठाउन रोकिएको काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले स्पष्ट पारेका छन् । मेयरकै निर्देशनमा सिंहदरबार परिसर भित्रको फोहर आइतबार उठन सकेन ।
सोमबार विहानै सामाजिक सञ्चाजलमा लामो स्टाटस लेख्दै मेयर शाहले विभिन्न सिंहदरबारले जनजिविकाका सवालमा काम गर्ने विषयमा स्थानीय तहसंग पटक्कै समन्वय नगरेको आरोप लगाए ।
उनले विभिन्न मन्त्रालयसंग जोडिएका समस्याका लागि पटक पटक पहल गरेको तर त्यसको समाधानको प्रयासमा सम्वन्धित मन्त्रालयले वेवास्ता गरेको आरोप लगाए ।
स्वास्थ्यको विषयमा मेयर बालेनले उठाएको चार मुद्धा
मेयर बालेनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग जोडिएका चारवटा विषयमा दुई जना मन्त्रीसंग विभिन्न चरणमा पहल गरेको दावी गरेका छन् । उनले स्वास्थ्य मन्त्रीहरुसग सरकारी अस्पताल सरसफाई र स्वास्थ्य बीमालाई महानगरमा कार्यान्वयनमा ल्याउने विषयमा पहल गरेको बताएका छन् ।
यस्तै स्वास्थ्य मन्त्रालयको चौथो तल्ला भत्काउनका लागि सर्बोच्च अदालतले दिएको आदेशको पालना नगरिएको समेत आरोप लगाएका छन् ।स्वास्थ्य मन्त्रालयको चौथो तल्ला नक्सा पास नै नगरि डिजाइन विपरित थपिएको भन्दै सर्बोच्चले भत्काउन आदेश दिएको बालेनको दावी छ ।
यस्तै राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यका भरी सेवा दिनलाई बजेट व्यवस्थापनका लागि समेत पहल गरेको तर त्यसको ठोस उपलव्धी नभएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा बालेनले स्वास्थ्य सहित अरु विभिन्न मन्त्रालयसंग जोडिएका विषय र गरिएका पहल बारे समेत लेखेका छन् ।
सम्पर्क इमेल : [email protected]