स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य मन्त्री कुर्दै बसेका स्वास्थ्य मन्त्रीका गाडीहरु
काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्री विहीन भएको पाँच साता नाघेको छ । सत्ता गठबन्धनमा फेर वदल आएपछि स्वास्थ्य मन्त्री रहेका पदम गिरी १५ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजिनामा बुझाएर जिम्मेवारीबाट बाहिरिएका थिए । त्यसयता नयाँ स्वास्थ्य मन्त्री आउन सकेका छैनन् भने स्वास्थ्यको जिम्मेवारी स्वयं प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन् ।
जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिने स्वास्थ्य मन्त्रालय सरकार र त्यसमा सम्लग्न पार्टीहरुको रोजाईमा पर्नु पर्ने हो । तर उनीहरु अहिले पनि ‘मालदार’ मन्त्रालयकै ‘बार्गेनिङ’मा बढी क्रियाशिल भएको देखियो ।
गत १८ चैतमा सातौँ पटक विस्तार भएको प्रचण्ड नेतृत्वको सरकारले नयाँ स्वास्थ्य मन्त्री दिन सकेन । त्यसबेला मन्त्रालय भागवण्डा गरेका सत्ता गठवन्वनमध्ये नेपाली कांग्रेसलाई स्वास्थ्य मन्त्रालय परेको भनिएको थियो । तर, काँग्रेसले स्वास्थ्य मन्त्री बनाउनका लागि नाम दिन सकेको छैन् ।
एमाले मन्त्रीहरुले राजिनामा बुझाएर सत्ताबाट बाहिरिदै गर्दा प्रधानमन्त्री प्रचण्डले त्यसबेला नै एक दुई दिन भित्र नै नयाँ गठवन्धनसंग सल्लाह गरेर नयाँ मन्त्री पठाउने बताएका थिए । त्यसपछि राष्ट्रपतिको चुनाव पछि भन्न थाले, अनि उपराष्ट्रपतिको चुनाव, त्यसपछि विश्वासको मत, अनि न्युनतम साझा कार्यक्रम । यसरी सर्दै आएको भाका अझै कहिलेसम्म सर्ने हो भन्न सकिने अवस्था छैन् ।
कोभिड महामारी पछि देशको अर्थतन्त्र डरलाग्दो अवस्थामा पुगेको अर्थविदहरुले बताउन थालेका छन् । सेलाईसकेको कोभिड १९ नयाँ रुपमा पुन देखा पर्ने जमर्को गर्दैछ । समाजवाद ल्याउने र स्वास्थ्यलाई मौलिक हकमा राखेका छौँ भनेर भन्न नछाड्ने दलहरुले स्वास्थ्य बीमा कार्यक्रम थला पर्ने अवस्थामा पुग्दा कर्के नजर लगाउन सकेका छैनन् ।
देशभरका पालिकाहरुमा अस्पताल बनाउने घोषणा गर्दै सुरु गरे पनि त्यो पूर्ण हुने अवस्थामा पुगेको छ कि छैन भनेर न स्वास्थ्यको जिम्मेवारी लिएका प्रधानमन्त्रीले ध्यान दिन भ्याएका छन् । न त हेर्नका लागि नयाँ स्वास्थ्य मन्त्री बनाएर पठाउन सकेका छन् ।
१५ जेठमा आगामी वर्षको बजेट भन्ने बेला हो । त्यसका लागि अहिले युद्धस्तरमा तयारी गर्नु पर्ने हो ।
गत मंसिरमा जनतालाई ठूला ठूला सपना देखाएर, आकर्षक नारा दिएर चुनाव जितेका दलहरुले पाँच वर्ष स्थायी सरकार बनाउने र देशले फड्को मार्ने दावी गरेका थिए । सोही अनुसार जनता नयाँ जनादेशका लागि तयार भएका थिए । जनताले पार्टीहरुलाई जिताएर त पठाए तर पार्टीले मन्त्रीको नाम पठाउन सकेको छैन् । नयाँ मन्त्री आउलान र नयाँ खालको बजेट बनाउला र केही फरक अनुभूति होला भन्ने आशा गरेका जनता पुन निराश बन्न थालेका छन् ।
जनता मात्रै होइन, स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी, कर्मचारहरु समेत अलमलमा परेका छन् । समय लामो भईसक्यो अब जुन सुकै बेला नयाँ मन्त्री आउलान भनेर उनीहरुले दिनहुँ मन्त्री चड्ने गाडी चिटिक्क पारेर मन्त्रालय अगाडी राख्ने गरेका छन् । तर, ती गाडीमा चड्ने मन्त्रीहरु अझै आउन सकेनन् । धेरै दिन देखि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्रीका गाडीहरु नयाँ स्वास्थ्य मन्त्रीलाई कुर्दै बसेका छन् ।
सम्पर्क इमेल : [email protected]