शिक्षण अस्पतालमै उपचार गराईरहेका छन् राष्ट्रपति रामचन्द्र पौडेल, खासमा के भएको हो ?
प्राडा सिग्देलको संयोजकत्वमा मेडिकल टिम घोषणा
काठमाडौँ, २० चैत । स्वास्थ्यमा समस्या आएको भन्दै गत शनिबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको उपचार अहिले पनि जारी छ ।
भर्ना भइसकेपछि शनिबार अस्पतालले जारी गरेको सूचनामा पेटमा समस्या भएको भन्ने मात्रै उल्लेख थियो । आइतबार अस्पतालले जारी गरेको अर्को सूचनामा स्वास्थ्य अवस्था सुधार भइरहेको बताइएको छ ।
तर, डिस्चार्ज बारेमा भने केही भनिएको छैन् ।
उपचारमा सम्लग्न मेडिकल टिमका एक सदस्यले आज विहानको राउण्डपछि अवस्था हेरेर के गर्ने भन्ने बारेमा निर्णय लिने बताए ।
यी हुन् राष्ट्रपतिको उपचार गर्ने मेडिकल टिम
राष्ट्रपतिको उपचारका लागि अस्पतालले आइतबार मात्रै मेडिसिन विभागका प्रमुख डा महेशराज सिग्देलको नेतृत्वमा मेडिकल टिम बनाइदिएको छ । त्यसमा डा निरज बम, डा राहुल पाठक, डा विकल घिमिरे, डा रत्नमणि गजुरेल, डा सुवास आचार्य सहितको मेडिकल टिम बनाएको छ । सोही टिमको निगरानीमा उपचार भइरहेको छ ।
उपचारमा सम्लग्न मेडिकल टिमका एक सदस्यका अनुसार राष्ट्रपति पौडेललाई एन्टीबायोटिक औषधि चलाइएको छ ।
‘सामान्य संक्रमण जस्तो देखियो । त्यसैले एन्टीबायोटिक दिईरहेका छौँ,’ मेडिकल टिमका एक सदस्यले भने । उनले एन्टीबायोटिक कति दिन चलाउने भन्ने बारेमा भने खुलाउन चाहेनन् ।
केही दिन देखि राष्ट्रपतिको छाती, पेट तथा बाँया कोखा दुख्ने समस्या देखिएको थियो ।
गत शुक्रबार मन्त्रिमण्डल विस्तार भएपछि राष्ट्रपति पौडेलले दिउसो ३ बजे शितलनिवासमै नयाँ मन्त्रीहरुलाई सपथ खुवाएका थिए । तर त्यसअघि उनी स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल गएका थिए । त्यस दिन एक बजेतिर अस्पताल पुगेर भिडियो एक्सरे, रगत तथा दिसा पिसा जाँच गरिएको थियो । त्यसको भोलिपल्ट बेलुका उनलाई भर्ना गरेरै उपचार गर्ने भन्दै अस्पताल लगिएको हो ।
सम्पर्क इमेल : [email protected]