‘क्षयरोग नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण’
पाल्पा, ११ चैत । क्षयरोगीको संख्या न्युनीकरण तथा उपचारमा संचार क्षेत्र तथा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । उनीहरुले क्षयरोगी पत्ता लगाउन तथा उपचारको पहुँचमा पुर्याउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
संचारकर्मीले लुकेर रहेका क्षयरोगी पत्ता लगाउन, त्यसबाट बच्न तथा उपचार गर्न प्रोत्साहन सूचना तथा जानकारी सन्देश प्रवाह गरेर गर्न सक्ने सहभागीको भनाई छ ।
विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार तानसेनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले लुकेर बसेका क्षयरोगीलाई उपचार पद्धतिमा ल्याउन संचार क्षेत्रले भूमिका खेल्न सक्ने बताए । उनले आम जनतालाई यस रोगबारे सचेत बनाउने लुकेर रहेका क्षयरोगी पत्ता लगाउन महत्वपूर्ण सहयोग गर्न सक्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सामान्य मानिसले पनि क्षयरोगको किटाणु बोकेर हिड्ने अवस्था रहेकाले मानिसलाई सचेत बनाएर यसको न्युनीकरण गर्न पत्रकारहरूको भूमिका रहने बताए । उनले मानिस सचेत भएको खण्डमा पनि क्षयरोग नियन्त्रण गर्न समेत सहज र सहयोग पुग्ने धारणा राखे ।
यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जिल्लामा क्षयरोगीको संख्या घट्न नसक्नुमा जनचेतनाको कमी हो भन्दै संचारकर्मीले आम नागरिकलाई सचेत बनाएर यसको न्युनीकरणमा भूमिका खेल्न आग्रह गरे ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले क्षयरोग कसरी लाग्छ, कसरी बच्ने, उपचार पद्धति, पाल्पाको अवस्थाका बारेमा जानकारी दिए । उनले क्षयरोग समयमै पत्ता लागेर ६ देखी ९ महिनासम्म औषधी सेवन गरे रोग पूर्ण रुपमा निको हुने बताए ।
न्यौपानेले जिल्लामा पछिल्लो छ महिनामा १५ जना क्षयरोगीको मृत्यु भएको बताए । त्यस मध्ये रैनादेबी छहराका मात्र ५ जना रहेको जानकारी दिए ।
पाल्पामा अहिले ३२४ जना क्षयरोगी रहेका छन् । जसमध्ये निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिकामा बिरामीको संख्या अधिक रहेको पाइएको छ ।
सम्पर्क इमेल : [email protected]