‘हेल्दी सिटीज समिट’मा भाग लिन काठमाडौँ महानरगका मेयर बालेन लण्डन प्रस्थान

काठमाडौँ, ३० फागुन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ्य सहर शिखर सम्मेलन (हेल्दी सिटीज समिट)मा भाग लिन बेलायतको राजधानी लण्डन प्रस्थान गरेका छन् ।

उनीसंगै स्वास्थ्य सल्लाहकार प्राडा जगदीश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।

आजदेखि २ चैतसम्म ‘हेल्दी सिटीज समिट इन लण्डन’ शिखर सम्मेलन हुँदैछ ।

ब्लुमबर्ग फिलान्थ्रोपिज र विश्व स्वास्थ्य संगठन आयोजक रहेको सम्मेलनको सह आयोजनामा लण्डनका मेयर रहेका छन् ।

शिखर सम्मेलनले मेयर र सहरका प्राविधिक कर्मचारीहरूलाई गैरसंक्रामक (नसर्ने खालका रोग) र चोट पटकका कारण मानव स्वास्थ्यमा सिर्जना भएको विश्वव्यापी बोझसँग कसरी लड्ने भन्ने विषयमा छलफल हुनेछ । सम्मेलनबाट आएका निचोडले स्वस्थ्य सहर निर्माण गर्न अग्रणी रणनीति प्रदान गर्ने विश्वास लिइएको छ ।

विश्वमा सहरीकरण तीब्र गतिमा फैलिएको छ । अस्वस्थ्य सहरी आचरण र दुर्घटनाहरु बढ्दै जाँदा, सहरी केन्द्रहरूमा बस्ने मानिसहरु नसर्ने रोगका कारण मृत्युबरण गरिरहेका छन् । हृदय रोग, स्ट्रोक, क्यान्सर, मधुमेह, पुरानो श्वासप्रश्वासका रोगहरू मानव मृत्युको कारण बनेका छन् । विश्वव्यापी रूपमा हेर्दा सबै मृत्युमध्ये ८० प्रतिशत मृत्यु चोटका कारण भइरहेको छ ।

सहरहरूमा बसोबास गर्ने मानिसहरू नसर्ने रोगबाट आफूलाई बचाउन कमजोर हुँदै गएका छन् । यसबेला जीवन बचाउने र स्वस्थ सहर निर्माण गर्ने विषयमा साझा रणनीति चाहिएको छ । शिखर सम्मेलनमा स्वस्थ्य र जीवन्त सहरहरू निर्माण गर्ने उत्कृष्ट अभ्यासमा छलफल गर्ने बताइएको छ ।

सम्मेलनबाट मेयर र प्राविधिकको प्रतिनिधिमुलक सञ्जाल निर्माण हुनेछ । यसमार्फत नसर्ने खालका रोग र चोटपटक कम गर्ने रणनीति र उपायका क्षेत्रमा सहकार्य हुने उल्लेख गरिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *