प्रधानमन्त्री दाहाल र डब्लुएचओ क्षेत्रीय निर्देशक डा. सिंहबीच भेटबार्ता, के – के भयो कुरा ?
काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संग विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्र (डब्लुएचओ सेरो) की निर्देशक डा पुनम क्षेत्रपाल सिंहले भेटबार्ता गरेकी छन् ।
डब्लुएचओ दक्षिणपूर्वी एशिया क्षेत्र र स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा आज देखि काठमाडौँमा सुरु भएको क्षयरोग सम्वन्धी तीन दिने क्षेत्रीय गोष्ठीमा सहभागी हुन आएकी सिंहले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेकी हुन् ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको स्वास्थ्य क्षेत्रमा डब्लुएचओले पुर्याएको सहयोग प्रति आभार व्यक्तगर्दै सरकार र डब्लुएचओ सेरोबीचको साझेदारीलाई थप सुदृढ बनाउने विषयमा आफ्नो धारणा राखेका थिए । भेटमा सहभागी एक जना सदस्यका अनुसार प्रधानमन्त्री दाहालले डब्लुएचओले पछिल्लो पटक कोभिडका बेला गरेको सहयोग, खोपको बारेमा गरेको सहयोगको समेत सराहाना गरेका थिए । नेपालको संविधानले नै स्वास्थ्यलाई मौलिक हकमा राखेको भन्दै प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्र सुधारका लागि आफू प्रयासरत रहेको बताएका थिए ।
भेटको अवसरमा डा सिंहल जनस्वास्थ्यका क्षेत्रमा नेपालले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेकी थिईन् । उनले दक्षिणपूर्वी एशियाली क्षेत्रमै नेपालले उदाहरणीय काम गर्दै आएको बताईन् । उनले सञ्चार माध्यममा मदिराजन्य पदार्थको विज्ञापन रोक्न सर्बोच्चले गरेको फैसलाको समेत स्वागत गर्दै यसलाई पूर्ण कार्यान्वयनमा ल्याउनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराईन् ।
यस्तै उनले सूर्तीजन्य पदार्थमा लाग्दै आएको करको दर बढाउनु पर्नेमा समेत जोड दिईन् । सुर्तीजन्य पदार्थमा करको दर बढाए उपभोगमा कमी आउने उनको भनाई थियो । प्रधानमन्त्री दाहालले आफूलाई सही समयमा महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएको भन्दै सिंहलाई धन्यवाद दिए ।
यस्तै डा सिंहले नेपालले स्वास्थ्य बजेट बढाउनु पर्नेमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी थिईन् । जवाफमा प्रधानमन्त्री दाहालले आफू त्यसमा सकारात्मक रहेको बताएका थिए ।
डा सिंहले मंगलबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतताल परिसरमा डब्लुएचओको सहयोगमा बनेको ९० बेडको आकस्मिक अस्पताल भवन सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]