पूर्व स्वास्थ्य मन्त्री एवं बरिष्ठ प्राध्यापक डाक्टर मधुराप्रसाद श्रेष्ठको निधन

काठमाडौँ, ८ फागुन । पूर्व स्वास्थ्य मन्त्री एवं बरिष्ठ प्राध्यापक डाक्टर मधुराप्रसाद श्रेष्ठको निधन भएको छ । ८८ वर्षीय प्राडा श्रेष्ठको आज विहान ४ : १५ बजे माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

न्युरो अस्पतालका निर्देशक प्राडा बसन्त पन्तका अनुसार प्राडा श्रेष्ठको कोभिड पछि छातीको समस्याले सताउने गरेको थियो । ‘उहाँमा पोष्टकोभिडको समस्या थियो । छातीमा बेलाबेलामा समस्या हुने गर्दथ्यो । बेला बेलामा हामीकहाँ आउनु हुन्थ्यो र जानु हुन्थ्यो । पछिल्लो पटक करीव १० दिन देखि भर्ना हुनु भएको थियो, आज विहान उहाँको देहवसान भयो,’ प्राडा पन्तले सुनाए ।

२०४६ सालको जन आन्दोलनपछि स्वर्गीय कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको मन्त्रिमण्डलमा प्राडा श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका थिए । त्यसभन्दा अघि नै उनी नेपालको चिकित्सा शिक्षालाई आधुनिकीकरण गर्ने र समुदायसम्म लैजाने प्राध्यापकको रुपमा चिनिई सकेका थिए ।

प्राडा पन्त भन्छन्, ‘उहाँ हाम्रो गुरु हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको जन्मदाता हो । नेपालमा सरकारीस्तरको मेडिकल कलेज चाहिन्छ भनेर लविङ गर्ने र कस्तो मेडिकल कलेज चाहिन्छ भनेर अध्ययन गर्ने व्यक्ति उहाँ हो । उहाँले गरेको अध्ययन् प्रतिवेदन अनुसार नै जाइकाले टीयूटीएचका बनाउन सहयोग गरेको हो ।’

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले कम्युनिटी मेडिसिनको जन्मदाता डा श्रेष्ठ भएको बताए ।’चिकित्सा शिक्षालाई समुदायसंग जोडेर तयार पार्ने काम उहाँले गर्नु भयो । उहाँले तयार पारेको कम्युनिटी मेडिसिनको अवधारणा महाराजगञ्ज मेडिकल क्याम्पस हुँदै अहिले छिमेकी देश भारत सहित संसारका धेरै देशमा पढाई हुन थालेको छ । उहाँ चिकित्सा शिक्षाको इनसाइक्लोपिडिया नै हुनुहुन्थ्यो,’ उनले भने ।

त्यसो त प्राडा श्रेष्ठलाई चिकित्सा क्षेत्रभन्दा बाहिर नागरिक अगुवा, मानव अधिकार आन्दोलनका रक्षक, वामपन्थी बुद्धिजिवीको रुपमा पनि चिनिन्थ्यो । उनको परिवारका केही सदस्य देशवाहिर रहेकोले उनको पार्थिव शरीर आज त्रिवि शिक्षण अस्पतालको शव गृहमा राखिने र दाहसंस्कार भोलि विहान ९ बजे पशुपति आर्यघाटमा गरिने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *