कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

1.1k
Shares

काठमाडौँ, २२ माघ । कर्णाली प्रदेशको सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत पहिलोपटक प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो ।

शनिबार (हिजो) नवलपरासी बर्दघाटका एक जना २२ वर्षका पुरुषको मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई ४३ वर्षीया आमाले मिर्गौला दान गरेकी हुन् ।
पहिलो पटक प्रत्यारोपण गर्न भक्तपुरबाट डा पुकारचन्द्र श्रेष्ठको टिम सुर्खेत पुगेको थियो । भक्तपुर र सुर्खेतका तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी भएर सुर्खेतमा प्रत्यारोपण सफल गराएका हुन् ।

यसअघि सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा प्रारम्भ गर्नका लागि १० चैत २०७८ मा प्रादेशिक अस्पतालको तर्फबाट डा. डम्वर खड्का र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तर्फबाट डा. पुकार चन्द्र श्रेष्ठले सुर्खेत समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्पूर्ण कानुनी तथा व्यवस्थापकिय प्रक्रिया पुरा गरे पश्चात शनिबार (२१ माघ) पहिलो प्रत्यारोपण गरिएको हो ।

प्रत्यारोपणमा सघाउन शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शल्यचिकित्सक डा. रवि किरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. सोभित थापा, डा. रस्मीत श्रेष्ठ, नेफ्रोलोजिष्ट डा. सुमित आचार्य, डा. दिपा लामिछाने रेडियोलोजीष्ट डा. समिर दवाडी सुर्खेत पुगेका थिए ।

प्रदेश अस्पताल कर्णाली प्रदेश सुर्खेतको तर्फवाट डा. डम्वर खड्काको नेतृत्वमा शल्य चिकित्सक डा. गणेश थापा, डा. विकास खड्का, एनेस्थेसियोलोजिष्ट डा. पुजन बल्ल र डा.जेनी बज्राचार्य, फिजिसियन डा. कुलराज शाही लगायतका चिकित्सक टोली र ओ.टी इन्चार्ज प्रभा रावल तथा ओ.टी. र आई.सि.यु.मा कार्यरत नर्सिङ्ग कर्मचारीहरु साथै प्रयोगशालाका इन्चार्ज भरत देवकोटा लगायतका कर्मचारीहरु सम्लग्न थिए ।

प्रत्यारोपण कार्यको संयोजन डा. गौरव पन्थ र प्रशासकीय अधिकृत हरीहर पोखरेलले र प्रदेश अस्पतालको तर्फबाट अस्पताल नर्सिङ्ग प्रमुख सकुन्तला सापकोटा र प्रशासन प्रमुख बिनोद बस्नेतले गरेका थिए । प्रत्यारोपण कार्यमा सघाउनको लागि केन्द्रको तर्फबाट ट्रान्स्प्लान्ट कोर्डिनेटर सरु कोजु, ओ.टी. स्टाफ नर्स विनिता कुटु, सबिया नागा, आई.सि.यु स्टाफ नर्स सजना कासुला, देवजना श्रेष्ठ र सीतामाया अवालले रहेका थिए ।

प्रदेश अस्पतालमा नियमित रुपमा प्रत्यारोपण सेवा संचालन गर्ने योजना रहेको छ । त्यसको लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता बृद्धि गरी आत्मनिर्भर वनाउनको लागि केन्द्रमा थप तालिममा पठाउने योजना वनाएको छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हालसम्म १०११ जनाको मृगौला र ९ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।

मिर्गौला विरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेशमा सेवा शुरु गर्न प्राविधिक सहयोग गरेको छ र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *