थुनामुक्त भएका सन्दीपको स्वास्थ्य अवस्था अहिले कस्तो छ ?

काठमाडौं, २९ पुस । नेपालको राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत पाटनले बलात्कार आरोप लागेका निलम्बित कप्तान सन्दीपलाई बिहीबार २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो ।
सोही आदेशअनुसार सन्दीपले आज (शुक्रबार) दिउँसो २० लाख धरौटी बुझाएसँगै थुनामुक्त भएका हुन् । थुनामुक्त गर्न केन्द्रीय कारागारबाट सन्दीपलाई जिल्ला अदालत काठमाडौं लगिएको थियो ।
त्यसअघि केन्द्रीय कारागारमा सन्दीपको स्वास्थ्य परीक्षण गरिएको थियो ।
केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन डा प्रकाश बुढाथोकीले सन्दीको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । ‘हामीले आजै सन्दीपको स्वास्थ्य परीक्षण गरेका थियौँ । कुनै समस्या छैन्,’ डा बुढाथोकीले भने । उनले अदालतलाई स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पठाएको समेत बताए ।
मानसिक रुपमा पनि फिट
यसअघी केन्द्रीय कारागारमा बस्दा सन्दीप मानसिक रुपमा अस्वस्थ रहेको खवर सार्वजनिक भएको थियो । तर डा बुढाथोकीले सन्दीप अहिले मानसिक रुपमा फिट भएको बताए ।
‘केही अघि उनलाई मानसिक स्वास्थ्य समस्या देखिएको हो । तर हामीले तत्कालै मानसिक स्वास्थ्य परामर्श सेवा दिन थाल्यौँ । यसले गर्दा छिटो रिकभर भयो कुनै औषधि चलाउन परेन,’ डा बुढाथोकीले भने । उनले कारागारमा बस्दा भर सन्दीपले एक पटक टन्सिललाइटिसको मात्रै औषधि खानु परेको बताए ।
सन्दीपमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको थियो ।
सन्दीपले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिदै आएका थिए । सन्दीपलाई गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

