यसवर्षको मुटुरोगी सेवा पुरस्कार बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यलाई
काठमाडौँ, ३ पुस । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमराज वैद्यलाई यसवर्षको मुटुरोगी सेवा पुरस्कार २०७९ प्रदान गरेको छ । विभिन्न स्वास्थ्य संस्था मार्फत मुटुरोगीहरुको उपचारमा सेवा प्रदान गरेको तथा ट्रान्सफ्याट विरुद्धको अभियानमा नेतृत्व भूमिका निर्वाह गरेको भन्दै प्रतिष्ठानले उनलाई पुरस्कृत गरेको हो ।
मृगेन्द्र सम्झना चिकित्सा गुठीको सहकार्यमा प्रतिष्ठानले विसं २०७४ सालमा स्थापित सो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।
शनिबार काभ्रेको बनेपामा आयोजित प्रतिष्ठानको ३१ औँ बार्षिक साधारण सभा (केन्द्रीय सभा)मा प्रमुख अतिथि बनेका बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, विशिष्ठ अतिथि डा मृगेन्द्रराज पाण्डे र प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपानेले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
पुरस्कृत भएपछि डा वैद्यले सेवाका लागि थप दायित्व बढेको अनुभूति भएको बताए । उनले प्राप्त पुरस्कारमा आफ्नो तर्फबाट थप रकम जम्मा गरी कोष खडा गर्ने र मुटु तथा नसर्ने रोगको क्षेत्रका लागि यस्तै प्रोत्साहन मिल्ने काममा प्रदान गर्ने घोषणा गरे । उनले कोष र कार्यको बारेमा केही दिनमै जानकारी दिने समेत उल्लेख गरे ।
सोही अवसरमा प्रतिष्ठानले स्वर्गीय दामोदर शर्मालाई मरणोपरान्त मुटुरोगी सेवा पुरस्कार प्रदान गरिएको थियो । यस्तै प्रतिष्ठानले सर्बोत्कृष्ठ शाखा ललितपुरलाई घोषणा गरेको थियो भने काठमाडौँ र गुल्मी जिल्ला शाखालाई उत्कृष्ठ अवार्डद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा डा ओम मूर्ति अनिललाई मृगेन्द्र सम्झना चिकित्सा गुठी बक्ताको सम्मान दिइएको थियो ।
शनिबार स्वागत संगै मुटुरोग सम्वन्धी अभिमुखीकरण कार्यक्रमबाट सुरु भएको बार्षिक साधारण सभाको उदघाटन सत्रपछि जिल्ला तथा प्रदेशका शाखाहरुको प्रगतिप्रतिवेदन प्रस्तुत गरिएको थियो । राती स्थानीय सांस्कृतिक कार्यक्रम राखिएको थियो ।
यस्तै आइतबार विहान योगाभ्यासबाट सुरु भएको कार्यक्रम जनचेतनामुलक रयाली र त्यसपछि पुन समिक्षा तथा प्रस्तुतिकरण र बार्षिक कार्ययोजना पास गरेर सम्पन्न भएको छ ।
सम्पर्क इमेल : [email protected]