नेपालका युवा क्यान्सर विशेषज्ञ डा. शाहीलाई ‘बेष्ट पोष्टर अवार्ड’
नेपालमै क्यान्सर रोगको क्षेत्रमा काम गर्न थप हौसला मिलेको छ : डा शाही
काठमाडौँ, २४ मंसिर । ‘द युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी’को आयोजनामा यसै साता सिंगापुरमा भएको क्यान्सर रोग विशेषज्ञहरुको सम्मेलन (इस्मो एशिया कंग्रेस -२०२२) मा सहभागी हुन नेपालबाट युवा क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही पुगेका थिए ।
स्वदेश होस् या विदेश, हरेक नयाँ फोरममा सहभागि हुँदा आफ्नो उपस्थितिलाई केही न केही फरक रुप दिने उनको आफ्नै शैली छ ।
सिंगापुरको सो सम्मेलनमा पनि उनले वैज्ञानिक अनुसन्धानमुलक ‘पोष्टर प्रिजेन्टेशन’ सहित सहित सहभागि भए ।
‘हाम्रो दैनिक खानपिन तथा जीवनशैलीका कारण पेटको क्यान्सरको जोखिम हुनसक्छ’ भन्ने विषय समेटेर उनले प्रस्तुत गरेको वैज्ञानिक अनुसन्धान मुलक कार्यपत्र सम्मेलनकै उत्कृष्ठ बन्यो । डा. शाहीले ‘बेष्ट पोष्टर अवार्ड’ प्राप्त गरे ।
उनलाई बेल्जियमका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा इरिक भ्यान कटसेमले ‘बेष्ट पोष्टर अवार्ड’ प्रदान गरेका थिए ।
त्यसो त सम्मेलनमा विभिन्न देशबाट क्यान्सर रोग विशेषज्ञहरु आएका थिए । उनीहरुले आफूले गरेका उपचार र देशमा भएका क्यान्सरका नयाँ उपलब्धीबारे पेपर र पोष्टर प्रिजेन्टेशनको रुपमा प्रस्तुत गरेका थिए ।
उनीहरुसंग प्रतिस्पर्धी बनेका डा. शाहीले पनि नेपालमा गरेका उपचार अनुभवलाई समेटेर पोष्टर प्रिजेन्टेशन प्रस्तुत गरेका हुन् ।
उनले प्रस्तुत गरेको कार्यपत्रमा बासी, सडे गलेको, पोलेको सेकुवा, धेरै रातो मासु खानपिन गर्ने तथा अस्वस्थ्य जीवन शैली निर्वाह गर्नेहरुमा पेटको क्यान्सर हुने जोखिम उच्च रहेको पाईएको छ। यस्तै उनको अनुसन्धानमुलक कार्यपत्रमा एच पाइलोरी व्याक्टेरियाको इन्फेक्सन व्यक्तिहरुलाई, व्लड ग्रुप ए पोजेटिभ भएका मान्छेहरुमा पनि अरुमा भन्दा बढी देखिएको उल्लेख छ ।
अवार्ड प्राप्त गरेपछि डा शाहीले नेपालको क्यान्सर उपचारको क्षेत्रमा थप योगदान गर्नका लागि थप प्रेरणा मिलेको बताए । उनले क्यान्सर उपचारलाई आम मानिसको पहुँचमा पुर्याउन तथा समयमै पहिचान गर्न नेपाल जस्तो मुलुकमा समस्या भइरहेको भन्दै सम्मेलनले थप नयाँ कुराहरु सिकाएको प्रतिक्रिया दिए ।
‘विश्वका ठूला र अनुभवि चिकित्सकहरुसंग नेपालको क्यान्सर उपचार अवस्था र भएका प्रगतिका बारेमा अनुभव आदान प्रदान पनि भयो । हामीले गरेका कामलाई अवार्डको माध्यमबाट प्रोत्साहन पनि मिल्यो । यसले नेपालमा क्यान्सर उपचारमा थप विकास हुनेछ,’ उनले भने ।
सिंगापुरको सुनटेक कम्प्लेक्स हलमा भएको सो सम्मेलनमा सिंगापुर, अमेरिका, ब्राजिल, बेलायत, भारत, चीन, वंगलादेश, श्रीलंका, जापान, मेक्सिको लगायतका विश्वका विकसित देशका क्यान्सर रोग विशेषज्ञहरु सहभागी थिए ।
सो सम्मेलनमा क्यान्सरको उपचारमा विश्वले गरेको प्रगति, विकशित देश र विकासोन्मुख मुलुकमा क्यान्सर उपचारको अवस्था र गर्नु पर्ने कामको विषय छलफल भएको थियो ।
यस्तै क्यान्सर उपचारको क्षेत्रमा भएका प्रविधिको विकास, क्यान्सरलाई घटाउन अपनाउनुपर्ने रणनीति, क्यान्सर उपचारमा भित्रिएको नयाँ प्रविधि आम सर्वसाधारणको पहुँचमा कसरी पुर्याउने भन्ने विषयमा समेत छलफल केन्द्रीत थियो ।
उक्त सम्मेलनमा विश्वका विभिन्न देशहरुबाट ३ हजार क्यान्सर रोग विशेषज्ञहरुको प्रत्यक्ष परोक्ष सहभागिता रहेको थियो ।
अवार्ड विजेता डा. शाही पाटन अस्पतालमा कार्यरत छन् । उनले विहान बेलुका काठमाडौँका केही निजी अस्पतालमा पनि काम गर्दछन् ।
सम्पर्क इमेल : [email protected]