नसर्ने रोग विरुद्ध जनचेतना अभिबृद्धि गर्न आवश्यक : मन्त्री खापुङ
अन्तरक्रिया गर्दै मनाईयो विश्व मधुमेह दिवस
काठमाडौँ, २८ कात्तिक । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले नसर्ने रोगविरुद्धको अभियान जनचेतना अभिबृद्धि गर्नु अपरिहार्य रहेको बताएका छन् । विश्व मधुमेह दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम उनले जनचेतना अभिबृद्धि गर्नु पर्ने बताएका हुन् ।
मन्त्री खापुङले उच्च रक्तचापलाई मानिसहरुले जति ध्यान दिन्छ, मधुमेहलाई त्यति ध्यान नदिने गरेको पाईएको भन्दै यसमा सम्वेदनशील हुन आग्रह गरे ।
‘मधुमेह निकै खतरनाक रहेछ । यसले हुनसक्ने हानीका बारेमा जनचेतना फैलाउन आवश्यक देखियो,’ उनले भने । उनले मधुमेह रोगको औषधि सरकारले स्थानीय तहको स्वास्थ्य चौकीसम्म निशुल्क व्यवस्था मिलाएको समेत उल्लेख गरे ।
कार्यक्रममा स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले मधुमेहको जोखिम बढाउने तत्व र क्रियाकलाप त्याग्न आग्रह गरिन् । ‘खानपान र जीवनशैली परिवर्तन गर्नु पर्यो । धूमपान तथा सुर्तीजन्य पदार्थ त्याग्नै पर्यो । शारीरिक व्यायम गर्नै पर्यो । नियमित स्वास्थ्य जाँच र चिकित्सकको सरसल्लाह मान्नु पर्यो,’ उनले भनिन् । सरकारले नसर्ने रोग नियन्त्रण सम्वन्धी विभिन्न नीतिगत व्यवस्था बनाएर अघि बढेको भन्दै यसलाई कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक रहेको बताईन् ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक प्रा गोमा निरौला, ईडीसीडीका निर्देशक डा चुमनलाल दास,इडीसीडी अन्तरगर्तको नसर्ने रोग सेक्सन चिफ डा फडिन्द्र बरालले मधुमेह सहितको नसर्ने रोगमा सरकारले गर्दै आएको कामका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका डा दीपक मल्लले मधुमेह रोगको अबस्था, बढदो जोखिम र नियन्त्रण गर्ने उपायका बारेमा प्रस्तुतिकरण गरेका थिए ।
सम्पर्क इमेल : [email protected]