४० बर्ष माथिका सबै व्यक्तिको नियमित निशुल्क स्वास्थ्य परीक्षण गर्नेछौँ : एमाले
काठमाडौँ, १६ कात्तिक । नेकपा एमालेले आगामी ४ मंसिरको निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार बनेमा ४० बर्ष माथिका सबै नागरिकको नियमित रुपमा निशुल्क स्वास्थ्य परीक्षण गर्ने योजना कार्यान्वयनमा ल्याउने बताएको छ । मंगलबार सार्वजनिक गरेको घोषणा पत्रमा एमालेले ४० वर्ष माथिका सबै व्यक्तिको नि:शुल्क रुपमा नियमित स्वास्थ्य परीक्षण गर्ने बताएको हो ।
सबै नेपालीको स्वास्थ्य सम्वन्धी अवस्था विद्युतीय अभिलेख राख्ने, त्यसमध्ये ४० बर्ष माथिका सबै स्वस्थ व्यक्ति र औषधि उपचार गरिरहेका सबै नेपालीको निशुल्क नियमित स्वास्थ्य परीक्षण गर्ने भनिएको छ ।
स्वस्थ व्यक्तिको निशुल्क नियमित स्वास्थ्य परीक्षण गर्ने हो भने जटिल तथा दीर्घ रोगको प्रकोप सहज रुपमा नियन्त्रण गर्न सकिने विज्ञहरुले बताउँदै आएका थिए ।
यस्तै एमालेले ६० बर्ष माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेहको निशुल्क परीक्षण तथा औषधि व्यवस्था गरिने बताएको छ । कडा असाध्य रोगहरुको उपचार निशुल्क गरिने र यस्ता बिरामीहरु र ८० बर्ष नाघेका जेष्ठ नागरिकहरुलाई पोषणयुक्त आहारका लागि थप सहायताको योजना ल्याईने उल्लेख छ ।
एमालेले सुरक्षित महिनावारी कार्यक्रमका लागि महिनावारी हुने उमेर समूहका सबै महिलाहरुलाई स्यानिटरी प्याड वा अन्य बैकल्पिक साधन खरीदका लागि बार्षिक रु १ हजार ५ सय रुपैयाँ उपलव्ध गराईने बताएको छ ।
एमालेले सबै नागरिकलाई मुलुक भित्रै प्राथमिक देखि अति जटिल र विशिष्टीकृत सम्पूर्ण स्वास्थ्य उपचार सेवाको ग्यारेन्टी गरिने उल्लेख गरेको छ ।
भान्सा नै औषधालय हो भान्सालाई विषमुक्त गरौँ अभियान सञ्चालन गरी आहार व्यवहारमा जन सचेतना विकास गर्ने योजना समेत अघि सारेको छ ।
स्वच्छ बिचार, सकारात्मक चिन्तन, स्वस्थ खाना, नियमित व्यायाम लगायतका स्वास्थ्य शिक्षाका विषयहरुमा आम नेपालीलाई प्रशिक्षित गर्न नागरिक स्वास्थ्य जागरण कार्यक्रम सञ्चालन गर्ने समेत उल्लेख गरेको छ ।
सम्पर्क इमेल : [email protected]