आगामी २ र ३ कात्तिकमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै

204
Shares

काठमाडौं, २५ असोज । सरकारले आगामी २ र ३ कात्तिकमा देशभरका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउँदै छ ।

राष्ट्रिय भिटामिन ए अभियान कार्यक्रम अन्तरगत ६ देखि ५९ महिना उमेरका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ बर्ष उमेर समूहका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करीव २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाईने छ ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए खुवाउँदै आइरहेको छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिएको हो ।

यस्तै १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो ।

अहिले ४१ जिल्लाका बालबालिकालाई खुवाउने गरिन्छ । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिएको छ ।

यसैबीच महाशाखाका निर्देशक डा. विवेक कुमार लालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरी भिटामिन ए कार्यक्रमबारे जानकारी गराएका छन् । उनले कार्यक्रम सञ्चालनका लागि सहयोग तथा प्रचार प्रसारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरिदिन समेत अनुरोध गरेका छन् ।

महाशाखाले अभियान बारे प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई समेत जानकारी गराईसकेको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *