भारतीय कम्पनीले उत्पादन गरेको रुघाखोकीको औषधि खाँदा ६६ बालबालिकाको मृत्यु

डब्लुएचओद्धारा सो औषधि प्रयोग नगर्न सुझाव

काठमाडौँ, २० असोज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बालबालिकालाई खुवाउने रुघाखोकीको औषधि प्रयोग नगर्न सुझाव दिएको छ । सो औषधि खाँदा गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएको आशंका गर्दै औषधि नखान सुझाव दिएको हो ।

बुधबार मिडिया ब्रिफिङको क्रममा डब्लुएचओका महानिर्देशक डा टेडरोस अधोनम गेब्रेयससले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप ( रुघाखोकीको औषधि) उत्पादन गरेको र ती औषधि खाँदा गाम्बियामा बालबालिकाको मृत्यु भएको बताएका थिए ।

डब्लुएचओले गाम्बियामा पाइएका चार औषधिलाई लिएर चेतावनी जारी गर्दै भनेको छ, ‘यो औषधिको सेवनबाट मिर्गौलामा गम्भीर असर हुनुको साथै ६६ जना बच्चाको मृत्यु समेत भएको छ । यो मृत्यु अत्यन्त दुःखदायी छ ।’

उसले अगाडि भनेको छ, ‘यी चार औषधि कफ र कोल्ड सिरप हुन्, जुन भारतमा मेडन फर्मास्युटिकल्स लिमिटेडले बनाउँछ । डब्लुएचओले यसको जाँच गरिरहेको छ । यो दूषित उत्पादन हालसम्म गाम्बियामा मात्र पाइएको छ । तर अन्य देशहरुमा पनि वितरण भएको हुनसक्छ ।’

उसले सबै देशहरुलाई मेडन फर्मास्युटिकल्स कम्पनीका रुखाखोकीका औषधि प्रयोग नगर्न र जाँच गर्न पनि सुझाव दिएको छ ।

डब्लुएचओका अनुसार ती औषधिहरुमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लोइकोलको मात्रा मिलेको छैन ।

भारतको सोनीपतमा रहेको सो औषधि कम्पनी ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)मा दर्ता भएर सञ्चालन भएको अधिकारीहरु बताउँछन् ।

उनीहरुले सो कम्पनीबाट गाम्बियामा मात्रै औषधि वितरण भएको दावी समेत गरेका छन् । डब्लुएचओको चेतावनीपछि डीसीजीआईले आन्तरिक रुपमा छानवीन अघि बढाएको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *